हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, सात घाइते

सदरलाइन संवाददाता २० मंसिर २०७७, शनिबार ०९:३८
 

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रवार राति लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

कर्णाली करिडोरको सिमकोट–हेक्पा खोला खण्डमा पर्ने उक्त कच्ची सडकमा दुर्घटना भएको हो । दुर्घटनामा एक बच्चासहित सातजना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको भएका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन बिष्टले बताए ।

दुर्घटनामा परी एक महिलासहित चारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, वडा नम्बर २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुःखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिए ।


घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिंघम भण्डारी, सिमकोट–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र एक वर्षका बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

जिप दुर्घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राति भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख डिएसपी मोहन विष्टले बताए ।

Next Post

‘कोरोनाविरुद्धको खोप बाध्यकारी हुने छैन’

२० मंसिर २०७७, शनिबार ०९:३८
काठमाण्डौ : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् । यसअघि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले पहिलोपटक घर भित्रै रहँदा पनि मास्कको […]