नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ ।
अनुगमन टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार जरिबानासहित बन्द गराएको छ । वाणिज्य कार्यालयले जरिबाना गराएको हो । सो पसलमा बाख्राको मासुलाई खसीको भन्दै बिक्रि गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रिका लागि राखिएको पाइएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
पसलबाट खान अयोग्य ३५ किलो मासु नियन्त्रणमा लिई नष्ट गरिएको छ । पसलमा राखिएका चारवटा बाख्रा समेत टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्रि बितरण भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि कार्यालयका विवेकुकमार सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमारी ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही लगायतको सहभागिता रहेको थियो ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरले बजार अनुगमनसँगै उपभोक्ता सचेतनामा पनि जोड दिन अभियान सञ्चालन गरिने बताए ।