राप्ती सोनारीको ३ वटा वडामा तीब्र विद्युतिकरणको लागि डेलिगेशन

सदरलाइन संवाददाता २१ भाद्र २०७७, आईतवार १८:३४
 

 

राप्तीसोनारी (बाँके ) :  बाँकेको राप्तीसोनारीका ३ वटा वडामा थाँती रहेको विद्युतिकरण एकैसाथ  सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्ज ध्यानाकर्षण पत्र बुझाईएको छ ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गर्न नेपाल बिद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगन्जको ध्यानाकर्षण गराइएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा आइतबार प्राधिकरण कार्यालय नेपालगन्ज पुगेको डेलिगेशन टोलीले साविक बैजापुर र नरैनापुर गाविसमा बिद्युतीकरण गर्न ‘उष्मा÷गौरी पार्वती जेभी’ नामक ठेकेदार कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म काम अलपत्र अवस्थामा रहेको छ ।

ठेक्काको म्याद गुज्रिएपनि प्राधिकरणले यी ठाउँमा बिद्युतीकरणको काम सुरु गर्न सकेको छैन । सोही ठेकेदार कम्पनीले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको काम अलपत्र पारेपछि प्राधिकरणले गतवर्ष ठेक्का तोडेर आफै काम सम्पन्न गरेको थियो । विगतमा प्रशारण लाईनको ठेक्का तोडेपनि प्राधिकरणले अहिले साविक बैजापुर गाविस हालको राप्ती सोनारी वडा नम्बर ३ र ४ को ठेक्का तोड्न अहिले आनाकानी गरेर काममा विलम्व गरिरहेको गाउँपालिका अध्यक्ष थारुले बताए ।

प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएको छ । तर, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ मा भने पुरानो ठेक्का नतोडिदा प्राधिकरणले अझै हात हालेको छैन ।

अध्यक्ष थारुले भने–‘प्राधिकरणले वडा नम्बर ५ मा बिद्युतीकरणको काम अन्तिम चरणमा पु¥याएकोमा म गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु, तर वडा नम्बर ३ र ४ मा अहिलेसम्म बिद्युतीकरणको काम सुरु नहुँदा जनताको आक्रोश धेरै छ, त्यसकारण प्राधिकरणले राप्तीसोनारीका ३ वटै वडामा एकैसाथ बिद्युतीकरणको काम सम्पन्न गरोस्, मेरो विशेष आग्रह छ ।’


उनले प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई कोहलपुर–धामपुर मुख्य प्रशारण लाइनको ठेक्का तोडेको नजिर प्राधिकरणमा ताजै रहेकाले राप्तीसोनारीको ३ र ४ मा अलपत्र कामको ठेक्का तोड्न ढिलाई गर्न नहुने सुझाव दिए । सो अवसरमा प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका प्रमुख ठाकुरले साविक बैजापुर र नरैनापुर गाविसमा लागेको ठेक्काको म्याद समाप्त भइसकेपनि अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले तत्काल हात हाल्न समस्या रहेको बताए ।

उनले भने–‘यो ठेक्का कहिलेसम्म तोडिन्छ, अहिले नै भन्न सक्ने स्थिती छैन, म बिद्युत प्राधिकरणको चिफ हुन्थ्ये भने भन्न सक्थ्ये, तर यसबारे अहिले केही भन्न सक्दैन । ठेक्का तोडिने बित्तिकै काम थाल्न त समस्या नै छैन ।’

ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिका आफैले वडा नम्बर ३ बाट गतवर्षदेखि नै बिद्युतीकरणको काम थालिसकेको छ । गाउँपालिकाले गतवर्ष बिद्युतीकरणका लागि २०७६/०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको बजेटबाट वडा नम्बर ३ का अधिकांस गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको अध्यक्ष थारुका स्वकिय सचिव सन्तोष चौधरीले जानकारी दिए । ‘वडा नम्बर ३ का अधिकांस गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न भइसकेको छ,’–उनले भने–‘अब ट्रान्सफर्मर मात्रै राख्ने काम छ, बिद्युत प्राधिकरणबाट हुनुपर्ने प्राविधिक काम अधुरो छ, हामीले ट्रान्फर्मरको कुरा गर्दा प्राधिकरण वडा नम्बर ३ र ४ मा पस्नै चाहन्न ।’ प्राधिकरण आफुले वडा नम्बर ३ र ४ मा बिद्युतीकरणको काम गर्न नसकेको र गाउँपालिकाले गर्न थालेको काममा पनि असहयोग गरिरहेको चौधरीको गुनासो छ ।

डेलिगेशनका क्रममा गाउँपालिका अध्यक्ष थारुसहित वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, समाजसेवी हेमकुमार डाँगी, कुसुम ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष यमबहादुर खड्का, कोषाध्यक्ष गेहेन्द्रकुमार खड्का, गाउँपालिका अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरी, कांग्रेसका युवा नेता कमल कार्की लगायतको सहभागिता रहेको थियो ।

 

Next Post

चौधरी ग्रुप बाँसगढीमा कार्यरत ४२ जना मजदुरमा कोरोना संक्रमण

२१ भाद्र २०७७, आईतवार १८:३४
गुलरिया (बर्दिया) : चौधरी ग्रुप (सिजी फुड्स) द्वारा बर्दियाको बाँसगढीमा सञ्चालित कारखानामा कार्यरत ४२ जनामा मजदुरमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन् । भेरी अस्पताल […]