नरैनापुरमा २३ वर्षपछि विद्युत बालियो

१६ असार २०७७, मंगलवार २३:४६
 

सदरलाइन / रुद्र सुवेदी,
नरैनापुर (बाँके) : बाँकेको कर्णाली उपनामको नरैनापुरमा विद्युतको पोल गाडेको करिव अढाई दशक पछि पहिलो  पटक विजुली बत्ती बलेको छ । अन्धकार मै रहेको नरैनापुर गाउँपालिकामा २३ वर्षपछि विजुली बत्ती बलेको हो ।

प्रदेश सांसद् कृष्णा केसी नमुनाले नरैनापुरको कट्कुइँयास्थित ट्रान्सर्फमरको स्विच अन गरेर नरैनापुरमा विद्युतको पहिलोपटक औपचारिक उद्घाटन गरिन । उनी सो अवसरमा निक्कै भावुक बनेकी थिईन ।

उनले नरैनापुरलाई विद्युतिकरणको सञ्जालसंग जोड्नको लागि भोगेका विभिन्न बाधा व्यवधान र अप्ठेराका बीच कछुवाको गतिमा अघि बढेको विद्युतीकरणको काम कोरोना कहरसंगै भने तीब्र गतिमा काम हँुदा २३ वर्ष अघिदेखिको विद्युत बाल्ने सपना पुरा भएको दाबी गरीन ।

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् नमुनाले कोरोनाको हटस्पट बनेको नरैनापुरमा जेठको पहिलो साताबाट थालेको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बाल्न संभव भएको उल्लेख गर्दै यो क्षणसम्म पुग्न पाउदा अत्यन्त हर्षित भएको बताउँदै आफूले नरैनापुरलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताईन ।

‘विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिन्छु । पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम रहेन’– उनले भनिन ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापुर बासीको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिंचाईसंगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताए । उनले २३ वर्ष अघिदेखि आजको दिनसम्म विद्युतिकरणको लागि पहल गर्ने सबैलाई धन्यवाद दिए ।


क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले विजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए । आइसोलेसन सेन्टर बनाउने भनिएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसम्म जसरी भएपनि तत्काल विजुली लैजाने अठोटले मूर्तरुप लिँदा यो सम्भव भएको उनले बताए ।

उनले भने–‘ कोरोनाको हटस्पट बनेको बेलामा प्रदेश साँसद नमुनाले गरेको अदम्य साहशका बीचमा हामीले पनि मानविय धर्म सम्झेर तीब्र गतिमा काम अघि बढायौ आज परिणाम तपाईहरुको बीचमा छ ।’

जेठ दोस्रो सातादेखि मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम शुरु गरेर सम्पन्न गरिएको उनले जानकारी दिनुभयो । अब मुख्य लाइनबाट गाउँगाउँमा विजुली पुर्याउन काम गरिने बताउँदै उहाँले गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिदिने बताए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताए । नेकपाका जिल्ला सचिव अशोक कोइरालाले सबैको प्रयासले नरैनापुरले काँचुली फेर्दै गएको बताए ।

त्यस अवसरमा भैरवप्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको उपस्थिति थियो ।

सुईयामा, लक्ष्मणपुर स्वास्थ्यकेन्द्रमा र मोतिपुरमा बनाइएको स्वीच थिचेर विद्युतको शुभारम्भ गरिएको थियो । यो संगै नरैनापुरले विकासमा नयाँ आयाम सुरु गर्ने भएको छ ।  

Next Post

जननेता मदन जयन्तीको अवसरमा बाँकेको खजुरा–४ मा बृक्षारोपण

१६ असार २०७७, मंगलवार २३:४६
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडान ४ को मनकामना आधारभूत विद्यालयको परिषरमा मदन जयन्तीको अवसरमा बृक्षरोपण गरिएको छ । तत्कालिन एमालेका महासचिव समेत रहेका जननेता मदन भन्डारीको जन्मजयन्ती अवसर पारेर विभिन्न जातका १५० बिरुवा लगाइएको नेकपा जिल्ला कमिटी बाँकेका सदस्य एबम खजुरा गाउँपालिका वडन ४ का इन्चार्ज सतिश […]