सदरलाइनडटकम,
धनगढी : बाजुरामा आईसोलेशनमा राखिएकी एक बालिकाको आइतवार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो । जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालिकाको मृत्यु भएको बताए ।
बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको डा. विश्वकर्माले जानकारी दिए । अस्पतालका अनुसार रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने छ ।
आठ दिनअघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टिनमा राखिएको थियो । आमाबुबासँगै उनलाई पनि आइसोलेशनमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।
