नेपालगञ्जस्थित सेना र प्रहरीको अस्पतालमा कोरोनाको उपचार गरिने

२४ बैशाख २०७७, बुधबार १३:३७
 

सदरलाइनडटकम,
बुटवल : कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई प्रयोगमा ल्याइने भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्वको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ ती अस्पतालहरूलाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
बैठकले परीक्षणको दायरा बढाउँदै आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्विपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ । यस्तै, भारतबाट आउनेलाई सिधै आइसोलेशनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा पुर्याउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
भारतबाट आउन सक्ने नेपालीलाई लक्ष्यित गरी पहिले निर्णय भएका बाँके र रूपन्देहीका साथै कपिलवस्तुमा समेत थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिँदै छ । कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने बैठकको निर्णय छ ।
प्रदेशमा खुला सीमा धेरै भएकाले सीमाक्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायत समस्याबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने जनाइएको छ ।

Next Post

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

२४ बैशाख २०७७, बुधबार १३:३७
सदरलाइनडटकम, काठमाण्डौ : लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने सरकारले निर्णय गरेको छ । बैशाख २५ गतेसम्म रहेको लकडाउनलाई मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधवार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या […]