सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोना भाइरस (कोभिड १९) का तीनजना बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो ।
स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्जका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।
यी संक्रमितहरु वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । यसअघि वीरगञ्जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरुलाई वीरगञ्जस्थित नारायणी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।
उक्त अस्पतालमा अहिले वीरगञ्जकै दुईसहित तीनजना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
