नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका पशुपालनको लागि मुख्य सम्भावना भएको क्षेत्र हो । पालिकाले व्यवसायिक पशुपालनको प्रसस्त संभावनाको खोजी गरी किसानले गर्दै आएको परम्परागत पशुपालनलाई परिवर्तन गर्दै व्यवसायिक पशुपालनतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएको छ ।
पछिल्लो केही समय यता नरैनापुरका किसानहरु उन्नत जातको पशुपालनको लागि आकर्षित भएको पालिकाको पशु सेवा शाखा प्रमुख जगतराम यादवले बताए ।
उनले पालिकाका पशुपालक किसानलाई व्यवसायीक बनाउन पालिकाले उन्नत जातको ब्रिड बितरण, यसको फाईदा बेफाईदाका बारेमा जानकारी गराउने गरिएको बताए ।
शाखाले निशुल्क पशु उपचार सेवा प्रवाह गर्दै आएको जानकारी दिदै पशु सेवा शाखाबाट दैनिक २०–३० वटा पशु उपचारको लागि आउने गरेको बताए । उनले शाखामा सेवा लिन आउने किसानले निशुल्क सेवा पाउने गरेको बताए ।
उनले पालिकाले बाख्रा पालक किसानका लागि १० हजार बाख्रालाई पिपिआर र एफएमडी खोप निशुल्क लगाईएको, गोठ व्यवस्थापनका लागि बाख्रा र गाईभैसीको लागि १०–१० वटा किसानलाई उपलब्ध गराईएको जानकारी दिए ।
नरैनापुर गाउपालिकाले ४ सय ७५ सय विभिन्न प्रजातिका पशुधनको विमा समेत गरेको छ । भने पशुमा नश्ल सुधारको लागि बोयर जातको बोका ७५ प्रतिशत र शतप्रतिशत गरी ३० वटा अघिल्लो वर्षमै बितरण गरे पनि यो वर्ष केही थान बोका किसान समेतको लगानीमा वितरण गर्ने योजना रहेको शाखा प्रमुख यादवले जानकारी दिए ।
उहाँले बितेको डेढ वर्षयता नरैनापुरमा कृतिम गर्भाधानको कार्यक्रम पनि सञ्चालनमा ल्याईएको र यस कार्यक्रमको सुरुवाती चरणमा किसानले त्यति चासो नदिए पनि हालसम्म पालिकाको २ सय ५० गाई, भैसी र बाख्रामा प्रयोगमा ल्याईएको जानकारी दिए ।
उनले पालिकाले किसानलाई दुधमा आत्मनिर्भर बनाउन बिभिन्न प्रजातिको घाँसको विउ पालिकाका २ सय ३५ जना किसानलाई वितरण गरेको बताए ।
पालिकाले माछा पालनप्रति आकर्षण गराउन २४ जना किसानलाई माछाका भुरा वितरण गरि उनीहरुका लागि ३ दिनको माछापालन तालिम समेत दिदै आएको, १४ किसानलाई चारा काट्ने मेसिन वितरणको प्रकृयामा रहेको पशु सेवा शाखा प्रमुख यादवले जानकारी दिए ।