प्रेस स्वतन्त्रता सेनानी पन्ना चाचाको निधन शुक्रबार अन्तिम सस्कार हुने

१६ माघ २०७६, बिहीबार १२:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचा’ को ९१ वर्षको उमेरमा बुधबार राती सवा आठबजे निधन भएको छ । बाँकेको पत्रकारितामा लामो योगदान दिएका चाचाको जीवनको अन्तिम घडिसम्म पनि पत्रकारितामै सक्रियता रहेको थियो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको निधन भएको हो । परिवारका अनुसार गुप्ता अचेत भएपछि अस्पताल पु¥याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गुप्ताका जेष्ठ सुपुत्र विजय गुप्ताका अनुसार कमजोर शरीरका कारण हिड्न नसक्ने भएपछि उनी विगत तीन वर्षयता घरमै आराम गरिरहेका थिए ।
कमजोर स्वास्थ्य अवस्थाले गर्दा उनी विभिन्न समस्याबाट पीडित प्रेस स्वतन्त्रता सेनानी गुप्ताको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको थियो ।
नेपालगञ्ज न्युरोडस्थित छोरा विजय कै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी वान्ता आएर अचेत भए लगत्तै नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत चाचाकै नाति डाक्टर दिपेश गुप्ता आएर चेकजाँच गरे । उनकै सल्लाहमा अस्पताल पु¥याए लगत्तै चाचाको मृत्यु भएको छोरा विजयले बताएका थिए ।
गुप्ताको पार्थिव शरीरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । उनको आज बिहीबार अन्त्यष्टी गर्ने यसअघि तय गरिए पनि पञ्चक परेकाले शुक्रबार बिहान १० बजे अन्तेष्टी गर्ने परिवारले जनाएको छ । उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । वि.सं. १९८५ सालमा जन्मिएका गुप्ता स्थानीय ‘किरण साप्ताहिक’का सम्पादक थिए । उक्त पत्रिका नेपालगञ्जबाट विगत ४ दशकभन्दा बढी समयदेखि प्रकाशन हुदै आएको छ ।
पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले करिव डेढ दशक अघि प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र युनियनका केन्द्रिय संस्थापक सदस्य हुन् ।
युनियन बाँके शाखाले संस्थापक अध्यक्षको चाचाको सम्मान स्वरुप तीन वर्षअघि ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरिदिएको छ । यस्तै युनियनको अगुवाईमा चाचाको नागरिक अभिनन्दन सहित रथारोहणसमेत गरिएको थियो । चाचाको निधनबाट नेपालगञ्जले ठूलो क्षति ब्यहोरेको छ । यहाँका पत्रकार, नागरिक अगुवा, राजनीतिककर्मी लगायत सबैले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

Next Post

माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

१६ माघ २०७६, बिहीबार १२:३९
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाराधना गरी आज बाँकेसहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरसहित विभिन्न मन्दिरहरुमा श्रद्धालुहरु पूजाअर्चना गरिरहेका […]

सम्बन्धित