ए डिभिजन लिगमा पुलिससँग एपीएफ पराजित

१३ माघ २०७६, सोमबार १४:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमवार भएको खेलमा विभागीय टोली एपीएफलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । खेलमा पुलिसले एपीएफ क्लबलाई एक शुन्य गोल अन्तरले हराएको हो ।
जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँचमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो । खेलको छैटौं मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई एपीएफका गोलकिपर अमृत चौधरीले बचाए ।
त्यसपछि ११ औं मिनेटमा पुलिसले पेनाल्टी पायो । निरकुमार राईको कर्नरबाट आएको बललाई भरत शाहले हान्न खोज्दा एपीएफका राजन गुरुङले डिबक्समा लडाएका थिए । जसका कारण पुलिसले पेनाल्टी पायो । पेनाल्टीको मौकालाई भोलानाथ सिलवालले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाए । एक गोलले पछि परेको एपीएफले ३९ औं मिनेटमा बराबरी गर्ने मौका पाएको थियो ।
एपीएफका आशिष लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४२ औं मिनेटमा एपीएफका रमेश दंगालीको प्रहार पनि पोष्ट नजिकैबाट आउट भयो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले ४९ औं मिनेटमा राम्रो अवसर खेर फाल्यो ।
पुलिसका रवी पासवानको पासमा निरकुमार राईले गरेको प्रहारलाई एपीएफका सुदिप सिख्राकारले गोललाइनबाट बचाए । त्यसपछि एपीएफ खेलमा फर्कन सकेन भने पुलिसले पनि पाएको मौकाको सुदपयोग गर्न सकेन । खेलको इन्जुरी समयमा एपीएफको प्रहारलाइ पुलिसका गोलकिपरले रोके ।
यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शीर्ष पाँचमा पुगेको छ । एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।

Next Post

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजार संक्रमित

१३ माघ २०७६, सोमबार १४:३८
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टायता […]