सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक बिहीवार नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्ट आतिथ्यतामा बसेको बैठकमा विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकामा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो ।
प्रमुख अतिथि नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्नेदेखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने बताइन् । गाउँपालिका अध्यक्ष शाहले विस्तारै विकासमा गति लिँदै गरेको नरैनापुर गाउँपालिकामा सरकारी कार्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल भारत सीमा क्षेत्रको निरीक्षणसमेत गरेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ ।
