छठको आज दोस्रो दिन निर्जल उपवास गरिँदै

१५ कार्तिक २०७६, शुक्रबार १४:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : छठपर्वको दोस्रो दिन शुक्रवार अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।
यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ । छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ । अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।
सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ । यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

Next Post

कृष्णनगरको जनजीवन सामान्य बन्दै

१५ कार्तिक २०७६, शुक्रबार १४:३३
सदरलाइनडटकम, कपिलवस्तु : कृष्णनगर बजारको जनजीवन सामान्य बन्दै गएको छ । बुधवार राति लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने क्रममा झडप भएपछि बढेको तनाव बिहीवार राति मूर्ति विसर्जन गरेपछि सामान्य बन्दै गएको हो । बिहीबार राति भएको वार्तामा प्रहरीको गोली लागि ज्यान गुमाएका भारतीय नागरिक सुरवकुमार पाण्डेका परिवारलाई क्षतीपूर्तिको लागि सिफारिस गर्ने, […]