सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु फर्किन थालेका छन् । नेपालगञ्ज नाका भएर दैनिक हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका छन् । बिहानैबाट नेपालीहरु भित्रिन शुरु हुने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए ।
भारतबाट फर्किने नेपालीको सहयोगका लागि नाकामा सहायता कक्षसमेत स्थापना गरिएको छ । भारतीय सवारी साधनबाट रुपईडिहा पुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी त्यहाँ पठाइएको उनले जानकारी दिए । प्रहरी नायब निरीक्षक रिजालका अनुसार रिक्सा, टाँगावालाबाट ठगिन नदिन सतर्कता अपनाइएको छ ।
नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको प्रहरीले बताएको छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाई छ ।
