डुडुवामा अपाङ्गता परिचयपत्र वितरण शुरु

२१ असार २०७६, शनिबार १५:३९
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिलेसम्म करीब ५० जनाले परिचयपत्रका लागि निवेदन दिएका छन् ।
जसमध्ये १४ जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार ख श्रेणीका ६ जना, ग श्रेणीका ६ जना र घ श्रेणीका २ जना रहेका छन् । अहिलेसम्म नेपाल सरकारले क र ख श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
क र ख बाहेक ग र घ श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६।०७७ देखि प्रदान गर्ने सेवा सुविधाका विषयमा निर्णय गरेर उपलब्ध गराउने अध्यक्ष चौधरीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षदेखि क श्रेणीका अपाङ्गतालाई ३ हजार र ख श्रेणीकालाई १ हजार ६ सय उपलब्ध गराउने छ ।

Next Post

मोस्ट वाण्टेड ‘बादशाह’ काठमाण्डौबाट पक्राउ

२१ असार २०७६, शनिबार १५:३९
सदरलाइनडटकम, कपिलवस्तु : कपिलवस्तु प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘बादशाह’ भनिने नसिम खानलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोले शनिवार बिहान काठमाण्डौबाट पक्राउ गरेको हो । मायादेवी गाउँपालिका ४ पिपरा गाउँका नसिम खानमाथि जिल्लामा झण्डै एक दर्जन हत्या, आतंक, लुटपाट, अपहरणलगायतका मुद्दाहरु […]