घरेलु हिंसाविरुद्ध राप्तीसोनारीमा सचेतना तालिम

११ असार २०७६, बुधबार १९:२१
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : घरेलु हिंसा र बालविवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्नु पर्नेमा सम्वद्ध सरोकारवालाले जोड दिएका छन् । यसका लागि घर तथा समुदायमा ब्यापक रुपले सचेतना जगाउनुपर्ने उनीहरुको भनाई छ । समृद्धिका लागि सञ्चार नेपालको आयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको सहयोगमा बुधवारबाट भवानियापुरमा सञ्चालित चार दिने घरेलु हिंसा तथा बालविवाहविरुद्ध सचेतना तालिम उद्घाटन सत्रमा सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बाल विवाह र घरेलु हिंसाबीच अन्तर सम्बन्ध रहेको बताईन् । अहिले पनि गाउँ समाजमा घरेलु हिंसा र बाल विवाह कायमै रहेको उनले जोड दिईन् । राप्तीसोनारी गाउँपालिकाको न्यायिक समितिमा घरेलु हिंसा सम्बन्धी उजुरी क्रमिकरुपमा आउने गरेको जानकारी दिँदै आफुलाई प्राप्त भएका उजुरीमा केही पुरुषले आफु हिंसामा परेको उजुरी दिएको बताइन् ।
त्यसरी प्राप्त भएको उजुरीको विषयमा दुबै पक्षलाई बसालेर मेलमिलाप गराउन प्रयास गर्ने र दुबै पक्षले मेलमिलाप गर्न नचाहेमा जिल्ला अदालतमा पठाउने गरेको उपाध्यक्ष खत्रीले बताईन् । घरेलु हिंसा सहेर नबस्न उनले सबैलाई आग्रह गरिन् । विशेषगरी दाईजोको विषयमा महिलामाथी घरेलु हिंसा भईरहेको बताईन् । समाजमा ब्याप्त रहेको बाल विवाह रोकथाम गर्ने दायित्व घर परिवार तथा समाजका सचेत वर्गको भएको प्रमुख अतिथी खत्रीको भनाई छ । कार्यक्रमका विशिष्ट अतिथी एवम् वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
बालविवाह न्युनिकरण गर्न बाल क्लब र घरेलु हिंसा विरुद्ध महिला स्वयं जागरुक हुनुपर्ने वडाध्यक्ष थारुको भनाई छ । समाजसेवी एवम् पुर्व गाविस अध्यक्ष तुलसीराम थारुले बाल विवाह र घरेलु हिंसा समाजको घृणित कार्य भएको टिप्पणी गरे । समाजमा बाल विवाह तथा घरेलु हिंसा हुनुको धेरै कारण भएको उनले जोड दिए ।सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले घरेलु हिंसा र बाल विवाह विरुद्ध सचेतनासँगै कानुनी कारबाही थाल्नुपर्ने बताए ।
समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीले घरेलु हिंसा र बाल विवाहले समाजलाई समृद्धिको दिशामा आगाडी बढाउन चुनौती दिइरहेको भन्दै समाजका सबै वर्ग सचेत भएर यसको रोकथाम गर्न जरुरी रहेको बताए । संस्था स्थापना भएयता विभिन्न सामाजिक मुद्दामा सचेतनामुलक कार्यक्रम गर्दै आएको अध्यक्ष ओलीले जानकारी दिए । गाउँपालिका र वडा कार्यालयले प्राथमिकता दिएर घरेलु हिंसा र बाल विवाह न्युनिकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको सुझाव छ ।
तालिम उद्घाटन सत्रको सञ्चालन समृद्धिका लागि सञ्चार नेपालकी कोषाध्यक्ष बिमला चौधरीले गरेकी थिईन् । उक्त तालिममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेका समाजका अगुवा, शिक्षक, महिला, बाल क्लबका पदाधिकारी लगायत ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा घरेलु हिंसा र बाल विवाहका विविध विषयमा अधिवक्ता चित्रबहादुर केसी लगायतले प्रशिक्षण दिएका छन् ।

Next Post

मानवअधिकार सम्वन्धी अन्तरक्रिया

११ असार २०७६, बुधबार १९:२१
सदरलाइनडटकम, नेपालगञ्ज   :  प्रदेश ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जमा मानवअधिकार सम्वन्धी अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा मानवअधिकारको क्षेत्रमा क्रियाशिल इन्सेकका प्रदेश ५ संयोजक भोला महतले विप्लप समूहका पछिल्ला गतिविधिले मानवअधिकारका क्षेत्रमा चुनौति थपिएको बताए । उनले भने,‘पहिला पनि साविकको मध्यपश्चिम हालको प्रदेश ५ का जिल्लामा द्वन्द्वका कारण मानवअधिकारका […]

सम्बन्धित