बालविवाह नियन्त्रण गर्न राप्तीसोनारीको अभियान

४ असार २०७६, बुधबार १८:४६
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : समाजमा बढ्दो बालविवाह न्युनिकरण गर्न राप्तीसोनारी गाउँपालिकाले सामुदायिक बिद्यालय केन्द्रित नयाँ अभियान शुरु गरेको छ । बालविवाह न्युनिकरणलाई विशेष प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले बुधवारबाट बिद्यालयका छात्रछात्रा, शिक्षक तथा अभिभावकसँग अन्तरक्रियात्मक अभियान शुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा सामुदायिक बिद्यालयमै पुगेर छात्रछात्रा, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको छ । अभियानको पहिलो दिन वडा नम्बर २ र ३ मा रहेका माध्यामिकस्तरका दुई वटा बिद्यालयमा अन्तरक्रिया गरिएको हो । राप्तीसोनारी–३ स्थित सरस्वती माध्यमिक बिद्यालयमा गरिएको अन्तरक्रियामा छात्रछात्रा, शिक्षक तथा अभिभावकले बालविवाह न्युनिकरण गर्न अभिभावक र छोराछोरीलाई सचेतना गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कक्षा १० की छात्रा दिपा अधिकारीले बालविवाह नियन्त्रणमा सचेतनासँगै कानूनीरुपमा पनि कडाई गर्न आवश्यक रहेको बताइन् । उनले बालविवाह न्युनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिइन् । बिद्यालयका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले गाउँघरमा शिक्षित र अशिक्षित बर्गलाई बालविवाहबारे अझैपनि पर्याप्त जानकारी नभएको बताए ।



वडा नं. २ अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयकी छात्रा लुमा भण्डारीले बालविवाह न्यूनिकरण गर्न अभिभावकको भुमिका महत्वपुर्ण हुने बताइन् । अर्की छात्रा एलिसा शाहीले सानो उमेरमा विवाह गर्नु हुदैन भन्ने कुरा थाहा पाउँदा पनि अभिभावकले विवाह गरिदिने गरेको गुनासो गरिन् । बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश थापाले उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ती बढ्दै गएको बताए । गाउँपालिकाले शुरु गरेको अभियानलाई निरन्तरता दिनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रबहादुर माझीले बालविवाहलगायत थुपै समस्या रहेको भन्दै बालविवाह समाजको एउटा प्रमुख समस्या रहेको जिकिर गरे । दुबै बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैको सहकार्य र समन्वयबाट मात्र बालविवाह न्यूनिकरण गर्न सम्भव हुने बताए । बालविवाह न्यूनिकरण गर्न सबै सरोकारवालासँग समन्वय गरेर गाउँपालिका अगाडी बढ्ने भन्दै उनले आगामी आर्थिक वर्षमा आवश्यक बजेटको ब्यवस्थासमेत गरिने जानकारी दिए ।

Next Post

साढे १८ किलो अफिमसहित ४ नियन्त्रणमा

४ असार २०७६, बुधबार १८:४६
सदरलाइनडटकम, नेपालगञ्ज   : बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित ४ जनालाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो । बुधवार बिहान ६ बजे पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषधसहित कारोबारमा संलग्नलाई […]