नेपालमा देखिन थाल्यो ‘फानी’को प्रभाव

२० बैशाख २०७६, शुक्रबार १३:५७
 

सदरलाइनडटकम,
काठमाण्डौ : बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रवारदेखि नेपालमा देखिन थालेको छ । काठमाण्डौ उपत्यकासहित मध्य भागमा अहिले तीब्रगतिको हावाहुरी चलिरहेको छ । केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फानीको प्रभावले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा मौसममा बद्ली भएर पानी पर्न थालेको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।
यस्तै देशका तराई भेगका केही ठाउँमा पनि हावाहुरीसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि देशको पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बद्ली भएर मेघगर्जनसहित पानी पर्न शुरु भएको महाशाखाले जनाएको छ । फानीको प्रभावका कारण दिउँसो मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविद् पोखरेलले बताइन् ।



पूर्वी क्षेत्रमा यसको प्रभाव तुलनात्मकरुपमा बढी हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै माहाशाखाले हिमाली भेगमा रहेका र हिमाल आरोहणमा गएकाहरु सर्तक रहनुपर्ने महाशाखाले जनाएको छ । फानीको प्रभाव शनिबारसम्म रहने छ । आइतवारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ ।
यसैबीच राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले पूर्वीनेपालका हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएको छ । आपतकालिन उद्दार केन्द्रले शुक्रवार सामाजिक सञ्जाजल ट्विटरमार्फत् सन्देश जारी गर्दै फानी चक्रावतको प्रभावले नेपालका पूर्वी हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चल्ने भएकाले सचेत रहन भनेको छ । फानी नेपाल नभित्रिए पनि त्यसको प्रभाव नेपालमा पर्ने केन्द्रले जनाएको छ । नेपालमा चट्याङ पर्ने, तीव्र हावाहुरी चल्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

Next Post

भोलीदेखि ४८ घण्टाका लागि भारतीय नाका शील

२० बैशाख २०७६, शुक्रबार १३:५७
सदरलाइनडटकम, नेपालगञ्ज : छिमेकी राष्ट्र भारतमा जारी १७औं लोकसभाको चुनावलाई दृष्टिगत गर्दै शनिवारदेखि ४८ घण्टाका लागि नेपाल भारत सीमानाका शील गरिने भएको छ । सात चरणमा सम्पन्न हुने आम चुनावअन्तर्गत पाँचौ चरणमा बैशाख २३ गते बहराइच जिल्लामा चुनाव हुने भएको हुँदा उक्त जिल्लासँग जोडिएको नेपाल भारत सीमा शनिवार बेलुका ६ […]