सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताका विभिन्न खेल भइरहेका छन् । वर्षाका कारण एक दिन रोकिएको प्रतियोगिता आईतवारदेखि शुरु भई विभिन्न विद्यालयवीच प्रतिस्पर्धा गराइएको छ । भलिबल, एथलेटिक्स, चेस, कपर्दीलगायतका खेलहरु संचालन भइरहेका छन् ।
केही खेल भने सम्पन्न भएको सचिवालय प्रमुख यमनाराण महतोले जानकारी दिए । प्रतियोगिता अझै २ दिन सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ५ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।
कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइएकोमा आधारभूत तहका विद्यार्थीबीच उद्घाटनकै दिन पनि प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, द्वितियलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ भने कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको छ ।