सदरलाइनडटकम,
नेपालगञ्ज : १९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै बुधबार २१ औँ राष्ट्रीय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यो पटक भूकम्प सुरक्षासम्बन्धी कार्यक्रममा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले मनाइँदै छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ । नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको इतिहास छ ।
सन् १२५५, १२६०, १३४४, १४०८, १५०५, १६८१, १८६७, १८३३, १८६९ र १९१६ मा पनि ठूला भूकम्पका कारण ठूलै जनधनको क्षति गरेको इतिहासमा पाइन्छ । १९९० सालमा नेपाल, भारत र तिब्बतलाई असर पार्ने गरी गएको आठ रेक्टर स्केलको भूकम्पमा नेपालमा मात्रै आठ हजारको ज्यान गएको थियो । त्यसपछि पनि २०२२, २०३६ र २०४५ मा करिब ६ रेक्टर स्केलका भूकम्प गएका छन् ।
२०६७ असोजमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले नेपालको पूर्वी भागमा केही क्षति गर्यो । पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको आठ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पले सर्वसाधारणमा त्रास उत्पन्न गराएको थियो । नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परी करिब नौ हजार मानिसले जीवन गुमाएका थिए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।