भाडाका कुर्सीमा प्रदेशसभा बैठक : प्रदेश १, २, ५, ६ र ७ मा आज पहिलो बैठक

२१ माघ २०७४, आईतवार ०८:११
 

धनगढी, २१ माघ । भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दै छ। बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्।

प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ। पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ। हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन्।

प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ। हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ। पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ। सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए। ‘संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ।

प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ। बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ।

भद्रगोल व्यवस्थापन

प्रदेश ७ को प्रदेशसभा पहिलो बैठकका लागि जेनतेन सभाहलको तयारी पूरा भएको छ। जिल्ला समन्वय समितिको हललाई प्रदेशसभा हलका रूपमा मर्मत गरिए पनि त्यसको परिसरको धेरै काम बाँकी छ। बाहिर लगाइएको पर्खाल प्लास्टर नसुकेकाले रंग लगाइएको छैन भने संसदीय दलका कार्यालयमा पनि कुर्सी र मेच लगाउनै बाँकी छ।

संसद् भवनभित्र हुने संसदीय दलका कार्यालयमा रंगरोगन गरिए पनि कुन दलको कुन कक्ष हो भनेर बोर्ड लगाइएको छैन। जिल्ला समन्वय समितिको बोर्ड पनि समाचार तयार पारुन्जेलसम्म फेरिएको छैन।

मर्यादापालकको जिम्मा हुने संसद् भवनको सुरक्षामा पनि चुनौती देखिएको छ। सभाहलमा प्रवेशका लागि बाहिरको पर्खालमा दुईवटा गेट राखिए पनि जोडिएको छैन। संसद् सचिवालयका लागि एउटा कोठामा तीनवटा कुर्सी राखेर सञ्चालन गरिएको छ तर सचिवालयको बोर्ड टाँसिएको छैन।

प्रदेश कार्यालय व्यवस्थापन समितिले आइतबारको बैठक सञ्चालन हुने गरी तयारी गरेको जनाएको छ। कार्यालय व्यवस्थापन समितिका सदस्यसचिव तथा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले माघ ४ गतेदेखि सबै निकाय खटाउँदा पनि काम नभ्याएको बताए।

५३ सदस्यीय प्रदेशसभामा एक जना ज्येष्ठ सदस्य सभामुखको मेचमा बस्ने भएकाले ५३ वटा कुर्सी धनगढीको शुभ श्री प्यालेसबाट भाडामा ल्याउन लागिएको हो। ‘शपथका लागि पनि त्यहीँबाट कुर्सी ल्याइएको हो, त्यसमा कभर पनि छ, हामीले अर्डर गरेका सबै कुर्सी बनिसकेका छैनन्। दोस्रो बैठकमा भने हामी पूरै तयारी सक्छौं’, बोहराले भने।


प्रदेश कार्यालय व्यवस्थापन समितिले हलको मर्मत, पर्खाल र घेरबार, रंगरोगन, ब्लक लगाउने र फूल बगैंचाको आकार बनाउनमा ध्यान दिए पनि, संसदीय दलको कार्यालयका बोर्ड, त्यहाँका अरू स–साना कुरा भने तयार पारेको छैन।

‘हामी शनिबार रातभरि लागेर पनि साउन्ड सिस्टम जोड्छौं, हरेक प्रदेशसभा सदस्यको टेबुलमा माइक हुन्छ’, बोहराले भने। प्रदेशसभा हलमा साउन्ड सिस्टमका लागि रेडियो नेपालका प्राविधिक आएका छन्।

सभाहलमा रंगरोगन गरिए पनि, त्यसको बाहिरको पर्खाल भने फिका हुनेछ। मूल गेटमा लेखिएको जिल्ला समन्वय समितिको स्थानमा प्रदेश संसद् भवन पनि लेखिएको छैन। ‘त्यो लेख्न प्रदेशका प्रमुख सचिवसहितको निर्णय चाहिने भएकाले त्यसका लागि पनि प्रयास गरिरहेको छु’ बोहराले भने। पूर्वाधारबाहेकको सबै तयारी भने सकिएको छ। आइतबार दिउँसो एक बजेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकको कार्यविधि शुक्रबार नै बनिसकेको छ। पहिलो बैठकमा पेस गरिने एजेन्डालगायतको टुंगो लागिसकेको प्रदेश संसद् सचिवालयका सचिव मुरारी महतले बताए।

पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य कांग्रेसबाट प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले गर्नेछिन् भने बैठकले सभामुखपछिका तीन जना माननीय पनि आइतबार नै चयन गर्नेछ। सर्वदलीय बैठकले तय गरेको कार्यसूचीअनुसार प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट एक–एक जना सांसद बोल्नेछन् भने सभामुख र उपसभामुखको चुनावको मिति तय गरिनेछ।

प्रदेश संसद् सञ्चालन गर्नका लागि आवश्यक पर्ने ३० जना मर्यादापालक पनि तयार भइसकेका छन्। शनिबार सबै मर्यादापालकलाई संसद् भवनमा ल्याएर बैठकको सुरक्षाबारे जानकारी गराइएको छ। मर्यादापालकको तालिमका संयोजक एसपी जनकराज पाण्डेले आइतबारको बैठकमा ३० जनालाई नै खटाइने बताए।

‘सबैका दाउरा सुरुवाल, कालो कोट र कालो भादगाउँले टोपी तयार भइसकेका छन्’, एसपी पाण्डेले भने।

पहिलोपटक हुन लागेको प्रदेशसभा बैठकलाई लिएर प्रदेशवासी र बैठकमा सहभागी हुने स्वयं सदस्य पनि उत्साहित भएका छन्। पहिलो बैठकले के निर्णय गर्ला भन्ने कौतुहलता प्रदेशवासीमा रहेका बेला प्रदेश सदस्यहरू पनि नौलौ अभ्यासमा सहभागी हुन पाउँदा उत्साही भएको बैतडीका प्रदेशसभा सदस्य लीलाधर भट्टले बताए।

संसद् भवनमा शनिबार प्रदेशसभा सदस्यको आवतजावत सुरु भएको छ। प्रदेश संसद् सचिवालयले आइतबार बिहान सबै सांसदलाई संसद् भवन बोलाएर पूर्वाभ्यास गरिने जनाएको छ। ‘हामीले मर्यादापालक, ज्येष्ठ सदस्यको प्रस्तुती र प्रदेश सदस्यलाई पूर्वाभ्यास गराउने भन्दै बिहान बोलाएका छौं’, प्रदेश संसद् सचिवालयका सचिव मुरारी महतले भने।

साभारः अन्नपूर्णपोष्टबाट

Next Post

प्रदेश ६ : किन दिइएन जेष्ठ सांसदलार्इ सेवा ?

२१ माघ २०७४, आईतवार ०८:११
सुर्खेत, २१ माघ । प्रदेश नम्बर ६ का जेष्ठ सांसद हिमबहादुर शाहीले माघ ७ गते जिल्ला समन्वय समितिको हलमा प्रदेश सांसदलाई सपथ खुवाए । प्रदेशका जेष्ठ सदस्यका हैसियत अनुरुप शाहीले प्रदेश ६ का ३९ जनालाई सपथ खुवाएका थिए । यति मात्रै हैन, जेष्ठ सांसदले प्रदेश सभामुख नछानिदासम्म बैठक समेत उनकै नेतृत्वमा […]