सदरलाइनडटकम
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्ज कारागारको बिहीबार स्थलगत निरिक्षण गरेका छन् ।
उनले कारागारको भौतिक पूर्वाधार तथा अन्य विषयमा उप–महानगरको तर्फबाट गर्न सकिने सहयोगको बारेमा अध्ययन गर्नको लागि आफु स्थलगत निरिक्षणको लागि नेपालगञ्ज कारागार आईपुगेको बताए ।
सो कारागार ३ सय कैदीबन्द, थुनुवाको क्षमता भएको र हाल सो कारागारमा हाल ६० महिलासहित ६ सय ७९ जना कैदीबन्दी, थुनुवासंगै आश्रीत एक नाबालक रहेका छन् । यी मध्ये ५२ भारतीय र २ बंगलादेशी नागरिकसहित ५४ जना विदेशी नागरिक छन् । उनले भने–‘जिर्ण भवन र आवश्यकता भन्दा बढी कैदीबन्दी र थुनुवा रहेको कारण तत्काल भवन मर्मत तथा थप निर्माणको लागि पहल गर्नुपर्ने अवस्था पाईयो ।’
उनले पुरानो भवनको मर्मत तथा थप नयाँभवन निर्माणको लागि तत्काल आवश्यक देखिएकोले नेपालगञ्ज उप–महानगरको तर्फबाट ततकाल गर्न सकिने सहयोगको बारेमा अध्ययन र छलफल गरेर टुंग्याईने बताए ।
मेयर डा. राणाले पुरुष कैदीबन्दी र थुनुवा बस्ने स्थान अत्यन्तै भिड रहेको पाईएको बताए । २५० पुरुष कैदीबन्दी र थुनुवा क्षमताको सो कारागारमा ६१९ जना राख्दा अवस्था अत्यन्तै भिडभाड रहेको आफुले पाएको बताए । उनले कारागारका कैदी बन्दीले आफुहरुको सरसफाई, तथा मनोरञ्जन, व्यायमको लागि केही सामाग्री आवश्यक भएको भन्दै उनीहरुको माग आएको बताए ।
उनले कारागारको तर्फबाट महिला कैदीबन्दी र थुनुवाको लागि नयाँ भवन निर्माण, बायोग्याँस र कारागारको चारैतिर बाउण्ड्री वाल निर्माणको लागि माग भई आएको बताए ।
नेपालगन्ज कारागारका प्रमुख तथा जेलर भरत पाण्डेले कारागारको तत्कालको लागि आवश्यकतालाई मध्यनजर गरेर महिला बन्दीगृहको लागि भवन निर्माण गर्ने, पुरुष बन्दीगृहको भवन मर्मत गर्ने र ६८० जना कैदीबन्दी थुनुवा र आश्रीत रहेको कारागारमा बायोग्याँस निर्माण गर्नसके कारागारमा आवश्यक पर्ने ईन्धनको समेत जोहो हुने कुरामा जोड दिएका थिए ।
यस अघि लामो समय कारागारमा निमित्त जेलरको भूमिका निर्वाह गरेका श्याम लामिछानेले कारागारको अवस्था र गर्न सकिने वा गर्ने पर्ने सुधारको बारेमा मेयर डा. राणालाई जानकारी गराएका थिए । सो टोलीमा मेयर राणा, राप्रापाका केन्द्रीय सदस्य तथा युवा नेता ऋषिराज देवकोटा लगायतको सहभागिता रहेको थियो ।