सदरलाइनडटकम,
कोहलपुर (बाँके) : मुलुकमा जताततै बलात्कारका घटना सार्वजनिक भईरहेका बेला बाँकेमा पनि एक बालिका बलात्कृत भएकी छन् । कोहलपुरमा किशोरी बलात्कृत भएकी हुन् । कोहलपुर नगरपालिका १ की ६ बर्षीया मुस्लिम बालिका बलात्कारको शिकार भएकी हुन् ।
भारत उत्तर प्रदेश रायबरेली घर भई हाल कोहलपुर नगरपालिका ४ मदनचोक बस्दै आएका १९ बर्षीय हारुन खानले मंगलवार दिउँसो एक बजे बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए ।
कोहलपुर ३ मा घुम्तीमा किराना पसल गर्दै बालिकाकी आमासँग रहेकी बालिकालाई घरमा पुर्याई दिन्छु भन्दै खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।
बलात्कारमा परेकी नबालिकाको योनिबाट रगत बगेकोले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएको छ । बालिकाको अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै कोहलपुर प्रहरीले जनाएको छ । बलात्कारका आरोपी खानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।