सदरलाइनडटकम नेपालगन्जः साउनको अन्तिम सोमवार आज बाँकेको बागेश्वरी मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । बिहानदेखि परिरहेको पानीको प्रवाह नगरी श्रद्धालुहरु बागेश्वरीस्थित जुंगे महादेवलाई गाईको दूध, जल चढाएर पूजाआजा गरिरहेका छन् ।
अविरल वर्षात्का बावजूद भक्तजनहरुको आस्थामा कुनै कमी आएको छैन । यस्तै काठमाण्डौमा पनि विहानैदेखि परिरहेको पानीको प्रवाह नगरी श्रद्धालुहरु पूजाआजाका लागि पशुपतिनाथ मन्दिरमा लामबद्ध छन् । उता कोटेश्वरको महादेवस्थान, ललितपुरको कुम्भेश्वरसहित देशैभरका शिवालयमा भक्तजनहरुको घुईंचो लागेको छ ।
साउनको सोमवार भगवान शिवको व्रत बस्नाले श्रीमान् दीर्घायु हुने हिन्दू महिलाहरूको विश्वास छ । त्यसैले साउनको सोमवार महिलाहरूले हरियो रंगको बस्त्र, चुरा, पोते र मेहन्दी लागाएर शिवको व्रत बस्ने गर्दछन् ।
