शिशु हत्या अभियोगमा जन्मकैद

२२ असार २०७५, शुक्रबार ११:२६
 

जाजरकोट, अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।

नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो ।

शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा उनी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएकी उनले गत वैशाख २६ गते बच्चा जन्माएकी थिइन् । पुनले उक्त बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिइन् ।


घटनालगत्तै सवितालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको जिल्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

(रासस)

Next Post

बच्चालाई दुध चुसाउने दुनियाँकै पहिलो पुरुष

२२ असार २०७५, शुक्रबार ११:२६
गत जून २६ । अमेरिकाको विस्कन्सिनमा बस्ने एक परिवारको घरमा एक नयाँ पाहुना आउनेवाला थियो । अस्पतालको त्यो रात केवल आमाका लागि मात्र फरक थिएन, पिताको हकमा पनि यस्तो भयो कि जुन उनले सपनामा पनि चिताएका थिएनन् । एप्रिल न्युबर्सको डेलिभरी सामान्य थिएन, किनकि उनको रक्तचाप निकै उच्च थियो । […]