सदरलाइनडटकम
२३ बैशाख, नेपालगन्ज : ठूलीभेरी नगरपालिका—७ जुफालकी बिसरा रोकाय श्रीमान कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायँ आखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए । घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउ गरी मिलापत्र गराएको प्रहरी चौकी प्रमुख कृष्णराज शर्माले बताए ।
गरिबी र अशिक्षाका कारणले गर्दा हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दै गएको छ । रासस
