बघौडा क्षेत्रमा विकासको जिम्मा प्रदेश सरकारलाई : मुख्यमन्त्री पोख्रेल

२३ बैशाख २०७५, आईतवार २०:१३
 

सदरलाइन / रुद्र सुवेदी
२३ बैशाख, नेपालगन्ज : ५ नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बघौडा क्षेत्रको विकासको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । नरैनापुर गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले भने–‘ बाँकेको राप्तीपारी क्षेत्रमा भएको पछ्यौटेपन अव समाप्त हुनेछ । केन्द्र सरकारका विकासका योजनाहरुले यस क्षेत्रलाई छुन नसके प्रदेश सरकारले आफ्नै बलबुताले यहाँको विकास गर्छ ।’ मुख्यमन्त्री पोखरेलले बघौडा भनेर चिनिने बाँकेको विकट नरैनापुर क्षेत्रको मुहार फेर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।
नरैनापुर गाउँपालिकाले आईतबार गरेको स्वागत कार्यक्रममा गाउँपालिकाका तर्फबाट अध्यक्ष इस्तियाक अहमद शाहले बुझाएको ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले बघौडा क्षेत्रको अब मुहार फेरिने दाबी गर्दै मुख्यमन्त्रीका हैसियतले आफूले त्यसको अगुवाई गर्ने प्रतिबद्धता जनाए ।
उनले भने–‘ अब बघौडाबासीले पीडा र विरहका गीत गाएर बस्ने दिन सकिन थाल्यो, अब समृद्धिको बाटो तय गर्ने संकल्प बोकेर अघि बढ्नु पर्दछ । बघौडामा छिट्टै बत्ती बल्छ, तपाईंहरु ढुक्क हुनुहोस्, केन्द्रले नगरे अब हामीले गर्छौैं ।’
उनले शिक्षा नै बृत्ति विकासको आधार भएकाले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर साक्षर बनाउने अठोट लिन अभिभावकहरुलाई आह्वान गरे । उनले मुस्लिम समुदायमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता अझैं स्थापित हुन नसकेकाले चुनौति रहेकोले सबैलाई विद्यालय वा मदरसामा भर्ना गराई साक्षर बनाउन अनुरोध गरे ।
राप्ती नदीको बाढीको कहरबाट प्रताडित नरैनापुरबासीलाई सुरक्षित राख्न राप्ती नदीको दायाँ बायाँ दुबैतिर तटबन्ध गर्ने कार्यलाई प्रदेश सरकारले कार्यसूचीमा राखिसकेको जानकारी मुख्यमन्त्रीले दिदै भने–‘बाढीबाट बच्न एकीकृत बस्ती विकासको अबधारणासहित खेतीपातिका लागि छुट्टै क्षेत्र छुट्याउन आवश्यक छ ।’
उनले निर्माणाधीन हुलाकी राजमार्गलाई यथाशिघ्र सम्पन्न गर्न प्रदेश सरकारले घच्घच्याउने मुख्यमन्त्री पोखरेलले आश्वस्त पारे । लक्ष्मणपुर बाँध र नेपाल भारत सीमामा भारतले पछिल्लो समय बनाएको बाँध जस्तो सडकका कारण बढेको डुबानको जोखिम हटाउन भारत सरकासंग कुटनीतिक पहल भइरहेको उनले जानकारी दिए ।
गाउँपालिकाले बुझाएको ज्ञापनपत्रमा विद्युत समस्या समाधान, बाढी पीडितहरुको पुर्नस्थापना, प्राविधिक शिक्षालय स्थापना, सीमामा भारतले बनाएको बाँधजस्तो सडक, राप्ती पुुलदेखि पूर्वतर्फको १ किलोमिटर क्षेत्रमा अर्को पक्की पुल निर्माण लगायतका माग समेटिएका गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए ।
स्वागत कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का सांसद् महेश्वर गहतराज अथक, प्रदेश सभा सांसद् कृष्णा केसी नमुना र पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले अभाव र पीडामा बाँचिरहेको नरैनापुरको विकासका लागि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउँदै विकासका लागि जनताको जागरुकता पनि चाहिने उल्लेख गरे ।

बाँधजस्तो सडकको पनि निरिक्षण

मुख्यमन्त्री पोखरलले आईतबार नै नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयास्थित नेपाल–भारत सीमामा भारतले एकतर्फीरुपमा बनाएको बाँधजस्तो सडकको पनि निरिक्षण गरेका छन् । निरिक्षण गर्दै मुख्यमन्त्री पोखरेलले समस्या समाधानका लागि भारत सरकारसंग कुटनीतिक पहल गरिने बताए ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले लक्षमणपुरस्थित तत्कालीन मुस्लिम धर्मगुरु स्वर्गीय खलिफा नुर अहमद शाहको मजार सरिफमा माल्यार्पण समेत गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । यसैबीच मुख्यमन्त्री पोख्रेलले राप्ती–सोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्तिको उद्दघाटन गरेका थिए ।


  

Next Post

यस्तो छ, प्रदेश ५ को लोगो

२३ बैशाख २०७५, आईतवार २०:१३
सदरलाइनडटकम २४ बैशाख, नेपालगन्ज :  प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका— १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद […]