गाडी ग्यारेजमा राखेर आन्दोलन गर्दै यातायात व्यवसायी

१९ बैशाख २०७५, बुधबार १८:५७
 


सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज : सिण्डीकेटका बिरुद्ध सरकारले चालेको कदम बिरुद्ध बाँकेका यातायात व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् । उनीहरुले यातायात व्यवस्था विभागले एकपक्षीय रुपमा सरोकारवालाहरुसँग छलफलनै नगरी यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेको दाबी गरेका छन् ।
उनीहरुले यहि वैशाख २१ गते देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा राखी आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । सरकारले यातायात व्यवसायीले सिन्डिकेट गर्दै आएको आरोप लगाउँदै आगामी साउन १ गतेदेखि यातायात संघ–समिति नविकरण नगर्ने कडा कदम चालेपछि यातायात व्यवसायीले आन्दोलनको तयारी गरेका हुन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन समितिका तर्फबाट बुधवार नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनमा यातायात संघ÷समितिका अध्यक्षहरुले आफुहरुले सिण्डिकेट नगरेको बताए ।
सयुक्त आन्दोलन समितिका सदस्य एवम् बागेश्वरी यातायात व्यवसायी समिति कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले आफुहरुले सिण्डिकेट नभई सवारी साधन आलोपालेको आधारमा सञ्चालन गरेको बताए । भेरी अञ्चल यातायात व्यवसायी संघ नेपालगन्जका कार्यवाहक अध्यक्ष शोभाखर पौडेलले बाँके बर्दियामा मात्रै २५ सय बढि सवारी साधनमा ७ अव बढि लगानी र १० हजार बढीलाई रोजगारी प्रदान भएको भन्दै लगानीको सुरक्षाको लागि जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरु तयार रहेको बताए ।
नमस्ते नपाल यातायात व्यवसायी संघ कोहलपुरका अध्यक्ष निरक चलाउनेले यातायात समितिहरु सरकारको नीति नियमअनुसारनै सञ्चालन भई सरकारलाई सहयोग गर्दै आएको दावी गरे । यातायात व्यवस्था कार्यविधि निर्देशिका सच्चयाएर वार्ताको माध्यमबाट व्यवसायी र सरकार दुवैको जित हुनेगरी यातायात प्राधिकरण बनाउन पर्ने चलाउनेको सल्लाह रहेको छ । कार्यविधि नसच्चयाए सम्म यातायात क्षेत्रका समस्या समाधान नहुने समितिका पदाधिकारीहरुको भनाई रहेको छ । गत चैत १८ गते यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाका केही बुँदाहरु ऐननियमसँग बाझिएको हुँदा निर्देशिका नै खारेज गर्न व्यवसायीले माग गरेका छन् ।
सार्वजनिक यातायातका साधनहरु स्वस्थ प्रतिस्पर्धाका आधारमा संचालन गर्ने व्यवस्था, यातायात क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिइनुपर्ने, असीमित बिमा नीति लागू गर्नुपर्ने, २० वर्ष पुराना सवारी सधान विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने लगायतका माग संयुक्त रुपमा पेश गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ संयुक्त आन्दोलनमुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू फ्रिदेखि अनिश्चितकालिन हड्तालसम्मकाआन्दोलन घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक व्यातायात यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम डिलर्स एसोसिएसनले संयुक्त रुपमा यातायात सेवा ठप्प पार्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

Next Post

अर्थोपेडिक तथा न्यूरो सर्जरीका विरामीका लागि ग्राण्डीले छुट्टै रिह्याबिलिटेसन वार्ड सञ्चालनमा ल्यायाे

१९ बैशाख २०७५, बुधबार १८:५७
सदरलाइनडटकम १९ बैशाख, काठमाण्डौ  : अर्थोपेडिक तथा न्यूरो सर्जरीपछि लामो समय उपचार तथा पुनःस्थापनाका लागि बस्नुपर्ने विरामीको लागि लक्षित गरी काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा छुट्टै रिह्याबिलिटेशन वार्ड संचालनमा ल्याएको छ । बुधबार एक औपचारीक कार्यक्रम सहित अस्पतालको सातौ तल्लामा सो वार्डको शुभारम्भ गरिएको अस्पताल प्रशासनले जनाएको छ । […]