नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका सामदायिक कुकुर नियन्त्रणका लागि नगरमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न उपमहानगरले होराईजन भेट क्लिनिक एण्ड पेट सपसंगको सहकार्यमा पाँच दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ ।
नेपालगञ्जमा सामुदायिक कुकुरको विगविगी भएपछि नियन्त्रणको लागि बन्ध्याकरण गर्न सुरु गरेको हो । उपमहानगरको पशु सेवा शाखाले समाुदायिक कुकुर नियन्त्रणको लागि होराईजन भेट क्लिनिक एण्ड पेट सपसंगको सहकार्यमा पाँच दिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी दिईन ।
उनले भनिन–‘ उपमहानगरले होराईजन भेट क्लिनिक एण्ड पेट सप नेपालगञ्जसंगको सहकार्यमा उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट सामुदायिक कुकुर समातेर बन्ध्याकरण गरिएको हो ।’ उनले पाँचदिनसम्म चलेको सो शिविरबाट २ सय ३० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताईन ।
सो बन्ध्याकरणमा सक्रिय होराईजन भेट क्लिनिक एण्ड पेट सपका पशु चिकित्सक डा. शिव भुसालले विहान नगरका विभिन्न स्थानमा पुगेर सामुदायिक कुकुर समात्ने र दिनभरी समातिएका सामुदायिक कुकुरको बन्ध्याकरण गरेर समाते कै स्थानमा छोड्ने गरेको बताए । उनले सो कार्यको लागि पुश चिकित्सक, पशुप्राविधिकलगायतको करिव डेढ दर्जन जनशक्ति खटिएको बताए ।
रेविज जन्य रोग नियन्त्रणको लागि उपमहानगरले नगरमा रहेका छाडा तथा सामुदायिक कुकुरलाई नगरका विभिन्न वडाका टोल–टोलमा पुगेर नियन्त्रणमा लिएर बन्ध्याकरण गर्न सुरु गरेको हो । उपमहानगरका २३ वटै वडाका विभिन्न टोलबाट नियन्त्रणमा लिईएका २ सय ३० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको उपमहानगरको पशु सेवा शाखाले जनाएको छ ।