विपदबाट बाँकेका डेढ लाख ब्यक्ति प्रभावित हुने पूर्वानुमान

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १३:२७
 

नेपालगञ्ज : बाढी र अन्य विपदबाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । यस वर्ष बाढी लगायत आगलागी, भूकम्प, शितलहर जस्ता विपदबाट २५ हजार घरधुरीका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनले विपदबाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको बताए । ‘विपदबाट सय जना घाइते र अस्थायी रुपमा पाँच हजार तथा स्थायी रुपमा पाँच हजार परिवार विस्थापित हुने अनुमान छ,’ उनले भने ।

पिउने पानीका स्रोतहरू प्रदुषित हुने बताउँदै उनले सरुवा रोगहरू फैलिन सक्ने र यातायात, विद्युत आपूर्ति, सञ्चार सेवा अवरुद्ध हुनसक्ने उनले बताए । ‘यस वर्ष विपदबाट ६ हजार मेट्रिक टन खाद्यन्न क्षति हुने र १० हजार मेट्रिक टन अन्नवाली (खडावाली) मा क्षति, पाँच हजार हेक्टर खेती योग्य जमिनमा क्षति तथा पाँच हेक्टर घाँसबाली क्षति हुनसक्ने पूर्वानुमान छ,’ केसीले भने ।

बाँकेका सवै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा नेपालगञ्ज उपमहानगरपालिकाको १९ र २० वडाका पाँच सय १० घरधुरीका दुई हजार पाँच सय ७० जना प्रभावित हुने अनुमान गरिएको छ ।


त्यसैगरी, कोहलपुर नगरपालिकाको २, ५, ६, ८, ९, १२ र १३ वडालाई बाढीको उच्च जोखिम क्षेत्रको रुपमा राखिएको छ । यी वडाका दुई हजार ३४ घरधुरीका आठ हजार आठ सय ९२ जनसंख्या बाढीको जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । उनले नरैनापुर गाउँपालिकाका ६ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको बताए ।

बाढीबाट धेरै क्षति हुने पालिकामा राप्तीसोनारी गाउँपालिकालाई पनि राखिएको छ । त्यहाँको ९ वटै वडा बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार चालू आर्थिक वर्षमा उक्त पालिकाका तीन हजार दुई सय ७९ घरधुरीका १७ हजार ६ सय ९५ जनसंख्या प्रभावित हुने सम्भावना औँल्याइएको छ ।

डुडुवा गाउँपालिका बाढीको सवैभन्दा उच्च जोखिममा रहेको आँकलन गरिएको छ । उक्त पालिकाका ६ वटै वडाका तीन हजार ६ सय ८२ घरधुरीका १९ हजार आठ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको केसीको भनाई छ ।

‘खजुरा गाउँपालिकाका एक हजार चार सय ९५ घरधुरीका चार हजार सात सय ८० जनसंख्या र जानकी गाउँपालिकाका तीन सय २६ परिवारका दुई हजार तीन सय १८ जना प्रभावित हुने पूर्वानुमान छ,’ सहायक प्रजिअ केसीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा साढे तीन लाख क्यु फिट काठ उत्पादन

१४ श्रावण २०८०, आईतवार १३:२७
नेपालगञ्ज : बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ । जिल्लाका विभिन्न सामुदायिक वन र निजी वनमा गरी गत साल तीन लाख ५२ हजार क्यूफुट काठ उत्पादन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिभिजनल वन अधिकृत गणेश खड्काले बताए । […]

सम्बन्धित