थालेसेमिया रोगको निःशुल्क उपचार व्यवस्था मिलाउन माग

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १६:१९
 

नेपालगञ्ज : बालबालिकामा मात्र देखिने रक्त अल्पताजन्य रोग थालेसेमियाको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने पीडितहरुले माग गरेका छन् । शरीरमा बिस्तारै रगतको मात्रा कम हुँदै जाने र पटक पटक रगत चढाउनुपर्ने लगायत उपचारमा धेरै रकम खर्च हुने हुँदा गरिब र विपन्नले आफ्ना सन्तानको उपचार गराउन नसक्ने अवस्था रहेको भन्दै सो माग गरेका हुन् ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जका सञ्चालक तथा बालरोग विशेषज्ञ डा. रोमा बोराले सिकलसेल उपचारका लागि सरकारले एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएपनि थालेसेमियाको लागि कुनै व्यवस्था नगरेकाले सो रोगको उपचार पनि निःशुल्क हुनुपर्ने बताए ।

पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमिया रोगको समस्या लिएर आफुकहाँ निदानको लागि आउनेहरुको संख्या बढ्दै गएको उनको भनाइ छ । डा. बोराले कान्ति आरोग्य अस्पतालमा बाँके, बर्दिया, दाङ्ग र कैलालीलगायतका जिल्लाबाट थालसेमिया रोगको समस्या लिएर आउने बालबालिकाको संख्या बढ्दै गएको बताए ।

हाल करिव ६०–६५ जना थालेसेमियाबाट पीडित बालबालिकाहरु उपचारका लागि अस्पतालमा आइरहेको र यीमध्ये करिव १३ जना नेपालगञ्जका विभिन्न समुदायका समेत बालबालिका रहेको अस्पतालले जनाएको छ । कान्ति आरोग्य अस्पतालले त्यहाँ आउने थालसेमियाका विरामीलाई बेड चार्जदेखि चिकित्सकको फिस र कुरुवा बस्ने सुबिधा निःशुल्क उपलब्ध गराइएको छ । त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले अस्पताललाई सहयोग गरेको छ ।


नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले उपमहानगर र कान्ति आरोग्य अस्पतालको सहकार्यमा थालसेमियाका स्थानीय विरामीको निःशुल्क उपचारको व्यवस्था गरिएको बताए । जिल्लाका अन्य पालिका र अन्य जिल्लाका विरामीको उपचारमा आर्थिक समस्या हुनेगरेको जानकारी आएकोले संघीय सरकारले नै निःशुल्क उपचारको व्यवस्था गर्ने माग उठेको बताए ।

एक जना थालेसेमियाको विरामीको उपचारको लागि बार्षिक करिव २ लाख रुपैयाँसम्म खर्च लाग्ने हुँदा आफुहरुले बार्षिक त्यति ठूलो रकम खर्च गर्न नसक्ने अधिकांश पीडित अभिभावकको भनाइ छ ।

थालेसेमियाबाट जोगिनका लागि विवाह गर्दा नै वर र बधुको थालसेमिया परीक्षण गरी रोगीबीच विवाह नगर्ने, रोगी र बाहकबीच विवाह नगर्ने र रोगी तथा रोग नभएका एवं निरोगी र निरोगीबीच मात्र विवाह गर्न सकिएमा यो रोग निर्मूल हुने चिकित्सकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक समस्या समाधानका लागि क्रान्तिकारीको ध्यानाकर्षण

२९ बैशाख २०८०, शुक्रबार १६:१९
कोहलपुर (बाँके) : अखिल क्रान्तिकारी बाँकेले कोहलपुर क्षेत्रमा देखिएका शैक्षिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गएको टोलीले कोहलपुर क्षेत्रमा शैक्षिक विकृति अन्त्यका लागि ध्यानाकर्षण गराएको हो । क्रान्तिकारी टोलीले सरकारी विद्यालयहरूले विद्यार्थी भर्ना नलिएको, आधारभुत तहको शिक्षाका लागि पनि शुल्क लिने […]