जमुनाहा नाकामा पुनः भेटिन थाले कोरोना संक्रमित

सदरलाइन संवाददाता ११ चैत्र २०७९, शनिबार १३:५३
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा उच्च विन्दुमा पुगेको बाँकेमा पुनः संक्रमित भेटिन थालेका छन् । जमुनाहा नाका भएर भारतबाट फर्किने नेपालीमा पुनः कोरोना सङ्क्रमण देखिन थालेको हो ।

लामो समयसम्म फाट्टफुट्ट मात्रै कोरोना सङ्क्रमित फेला परेपनि केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिए । ‘जमुनाहा नाकामा भारतबाट फर्किनेहरूको नियमित स्वास्थ्य जाँच भइरहेको छ,’ जनस्वास्थ्य निरीक्षक ओलीले थपे,–‘पछिल्ला समय एकैदिनमा सात जनासम्ममा कोभिडको सङ्क्रमण देखिएको छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार यही चैत १ गतेदेखि ११ गतेसम्म १७ जनामा सङ्क्रमण देखिएको छ । शुक्रबार १६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन् ।


कोरोना सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएकारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप–महानगरपालिकाले जनाएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले सीमानाका भएर ओहोरदोहोर गर्ने नागरिक तथा अन्य सबैलाई कोभिडबाट बच्न स्वास्थ्य मापदण्डको पूर्ण पालनाका लागि आग्रह गर्ने गरिएको बताए । सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको बताउँदै उनले कोरोना संक्रमण देखिएपछि जमुनाहा नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको बताए ।

जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धरौटीमा छुटे नेपालगञ्जका उपमेयर राई

११ चैत्र २०७९, शनिबार १३:५३
नेपालगञ्ज : ठगि मुद्दामा पक्राउ पुर्जी जारी भइ पक्राउ नपरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई धरौटीमा छुटेका छन् । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी पाएर पनि प्रहरीले उनलाई पक्राउ गरेन । यसबीच कमरुद्दिन विभिन्न औपचारिक कार्यक्रम, सेमिनार, […]