हात्तीपाइलेको औषधि खुवाउन समस्या

सदरलाइन संवाददाता ५ फाल्गुन २०७९, शुक्रबार १२:२८
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणले हात्तीपाइलेको औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग नियन्त्रण अभियान सफल हुन सकेको छैन । विक्रम संवत् २०६७ देखि बाँकेमा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगञ्जकै सर्वसाधारण नागरिकले औषधि सेवन नगर्दा अभियान सफल हुन नसकेको हो ।

पहिलो पटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसबेला नेपालगञ्जमा औषधि सेवन गरेका केही व्यक्तिको शङ्कास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधिप्रति सर्वसाधारणको बुझाइमा गलत भएको छ । औषधि नखानेको सङ्ख्या ह्वात्तै बढेको छ ।

बाँकेका आठ पालिकामध्ये नेपालगञ्ज उपमहानगरपालिकाको आमऔषधि ‘कभरेज’ दर निराशाजनक रहेको छ । गत वर्षको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधि ‘कभरेज’ भएको थियो । गत वर्ष खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा वैजनाथ र राप्ती सोनारीको ७३÷७३ प्रतिशत कभरेज दर रहेको थियो ।


स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जको वडा नम्बर ३ र १६ का अधिकांश समुदाय औषधि सेवन गर्न मान्दैनन् । उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । “हात्तीपाइले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्ने हो । तर प्रभावकारी नै नभएपछि १३औँ चरणसम्म मात्र आइपुगेको छ,” स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले बताइन् ।

सर्वसाधारणले औषधि नखाँदा ६ चरणमा सम्पन्न हुनुपर्ने अभियान १३औँ चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको उहाँको दुःखेसो छ । “हात्तीपाइले रोगविरुद्धको औषधिप्रति कतिपय सर्वसाधारणको गलत बुझाइ रहेको छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,” प्रमुख पौडेलले भनिन् ।

हात्तीपाइले रोगविरुद्धको अभियानका फोकल पर्सन दुर्गा गौतमका अनुसार सरकारी मापदण्ड पूरा गर्न करिब ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ । तर यसअघि १२औँ चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती प्रतिष्ठानमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा

५ फाल्गुन २०७९, शुक्रबार १२:२८
दाङ : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकमा एकसाथ हुने बहुरुग्णता रोगको विशेष उपचार सेवा प्रभावकारी हुँदै गएको छ । मेडिसिन विभागमा प्रतिष्ठानले वेड नै छुट्याएर जेष्ठ नागरीक वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका मेडिकल डाइरेक्टर, फीजिसियन तथा जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कडेलले वृद्धवद्धालाई सहज उपचार […]