बर्दियाका मुस्लिम धर्मगुरु र युवाको अभियानले बाल विवाह रोकिदै

रुद्र सुवेदी २ पुष २०७९, शनिबार १७:२१
 
फाईल तस्बीर गुगलबाट साभार
फाईल तस्बीर गुगलबाट साभार

बर्दिया :  संस्कार र संस्कृतिको हवाला दिदै सामाजिक समस्याको रुपमा जडो गाड्दै आएको बालविबाहबिरुद्धको अभियानले गति लिदै गएको सो क्षेत्रमा सक्रिय बर्दिया गुलरियाका मुस्लिम समुदायका धार्मिक अगुवा तथा युवाको अनुभव छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ गोरखचौराहका २७ वर्षिय रुतुब अली सैयद धार्मिक अगुवा ‘मुल्बी’ हुन । मुस्लिम समुदायको धार्मिक कार्यमा संलग्न हुने उनी ‘मुल्बी’ हुन् । अशिक्षा र अज्ञानताको कारण मुस्लिम समुदाय केही पछाडि परेको भन्ने उनको सोचाई छ ।

‘मुल्बी’ रुतुब प्लान नेपालको आर्थिक सहयोगमा बि–ग्रुपले आयोजना गरेको बाल विवाहविरुद्धको सचेतना कार्यक्रममा सहभागि भएपछि समाजमा रहेको बालविवाहको अन्त्य गर्नको लागि अभियानमा लाग्ने अठोट लिएर अभियान सुरु गरेको दाबी गरे । उनले बालविवाह गर्दा हुने नराम्रो पक्षको बारेमा आफुले सिकेको कुरा आफ्नो गाउटोलमा सिकाउन र सचेत बनाउने अभियान सञ्चालन गर्न सुरु गरेको बताए ।

उनी भन्छन–‘ बि–गु्रपले आयोजना गरको कार्यक्रममा सहभागि हुँदा सानो उमेरमा विवाह गर्दा दुलाह भन्दा दुलहीलाई बढी जोखिम हुन्छ भन्ने कुरा जानकारी पाए । कारण थियो प्रजनन अंगको विकास नहुनु र वैवाहिक अवस्थाको जिम्मेवारी बोक्न नसक्नु । मैले यो कुरा मेरो समुदायको अभिभावकलाई पनि जानकारी गराउनु पर्छ भनेर धार्मिक भेला जुमा (शुक्रबार) को नमाजको बेलामा पनि विषेश प्रवचन (तकरिर) गरे र अरु मौलानाहरुलाई गर्न पनि लगाए ।’

उनले आफुहरु जस्तो अभियन्ताको कारण समाजले पनि संस्कारको नाममा कुरुती र कुसंस्कार त्याग्दै गएको बताए । ‘हिजोका दिनमा समाजमा पुरातनबादी सोचका आमाबुवा, विपन्न र गरिवीको कारण सानो उमेरमा नै विवाह गर्ने गरेको चलन भए पनि अब भने हाम्रो मेहनत र अभियानले विस्तारै सार्थक पाउन थालेको छ । पुरातनबादी सोच हट्न थालेको छ । सबै अभिभावकलाई सचेत बनाउन सकिए मात्र पनि बालविवाह आफै रोकिने छ’– उनले भने ।

उनले मुस्लिम समुदायको विवाह (निकाह) गराउन आफु पनि जाने गरेको कुरा उल्लेख गर्दै भने–‘ पहिला गाउँमा हुने विवाह (निकाह) गराउदा बर बधुको उमेर नहेरी अभिभावकले जे भने त्यसैको आधारमा निकाहनामा विवाह गराउथे । तर, आजकाल दुबैको उमेर खुल्ने सरकारी कागजपत्र हेरेर मात्र निकाह गराउने गरको छु ।’

उनले हिजोको दिनमा २० वर्ष मुनीका बरबधुको निकाह अन्जानमा गरिएको हुनसक्ने बताउदै आगामि दिनमा भने त्यसो आफु पनि नगर्ने अरुलाई पनि गर्न नदिने गरी समुदायमा सचेतना फैलाउने काम गर्दै आएको बताए ।

मधेशी मुस्लिम समुदायमा अन्धविश्वास, अशिक्षा ब्याप्त छ । ‘कम उमेरमा सादी जीवनका बरबादी’ भन्ने स्लोगन घर–घरमा पुराउनको लागि विद्यालय तथा मदरसामा पढ्न आउने विद्यार्थी, गाउँका किशोर किशोरी र उनका अभिभावकलाई २० वर्ष मुनी विवाह गर्दा आउने जोखिमको बारेमा सचेत बनाउन आवश्यक छ’– उनले भने ।

उनले केही वर्ष अघिको आफ्नै गाउकै एक घटना सम्झदै भने–‘ गाउकी एक किशोरीको सानै उमेरमा विवाह भएको थियो पहिलो सन्तान छोरी जन्मिएपछि दुबैको स्वास्थ्यमा जटिलता आयो नेपालगञ्ज हुँदै काठमाण्डौसम्म पुराईयो तर आमा र बच्चा दुबैलाई जोगाउन सकिएन ।’ उनले मधेशी मुस्लिम किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी गराउन सके उनीहरु आफै पनि अभिभावकको सहमति बिनै भागरे विवाह गर्ने काम कम हुने विश्वास व्यक्त गरे ।

समुदायमा पुराउने सूचना सजिलै विद्यालय तथा मदरसामा अध्ययन गर्ने विद्यार्थीहरुबाट सहज हुने भएकोले उनीहरु सबैलाई २० वर्ष मुनी विवाह गर्न नहुने कानूनी जटिलताका कुरा र विवाह गर्दा हुने शाररीक, मानसिक तनाव तथा जटिलता जस्ता कुराको सचेतना मुलक कक्षा सञ्चालन गर्न आबश्यक रहेको उनको सूझाव छ ।

यसैगरी बर्दिया गुलरिया नगरपालिका–११ जोशीपुरका १८ वर्षिय मतिन शेष आफ्नो समुदायमा बालविावह विरुद्धको अभियानका स्थानीय अभियन्ताको रुपमा आफ्नो परिचय बनाएका छन् । मुस्लिम समुदायका उनी प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा गठित ‘च्याम्पियन अफ चेन्जमेकर’ सिओसि कक्षामा आबद्ध भएपछि बालविवाह सामाजिक अपराध हो भन्ने बुझेर अभियानमा लागेको बताउछन ।


बाल विवाह गर्दा हुने हानी नोक्सानीको बारेमा बुझेका उनले आजकल आफु र आफ्ना दौतरीलाई साथमा लिएर बालविवाह बिरुद्धको अभियान बोकेर गाउको घरदैलोमा पुग्ने गरेका छन् । पाँच जनाको परिवार मध्येका जेठो छोरा मतिनलाई उनका आमावुवाले पनि यो कार्यमा लागेको भन्दै हौशला दिने गरेका छन् । उनी भन्छन–‘ सिओसी कक्षामा बसेर आएपछि बालविवाह बिरुद्ध जेहाद (युद्ध) नै गर्छु भन्ने सेच बनाएको छु । त्यो अनुसार काम पनि गरेको छु । घरपरिवारले पनि मेरो काममा सहयोग गरेको छ ।’

उनले गाउमा गतवर्ष हुन लागेका ५ वटा जति बालविवाह रोक्न सफल भएको बताए । ‘विवाहको कुरा सुने पछि केटा केटीको उमेर पत्ता लगाउथ्यौ दुबैको वा कुनै एकको उमेर २० वर्ष भन्दा मुनी भए विवाह नगर्न नगराउन उनीहरुको अभिभावकलाई अनुरोध गर्थेउ नमाने र जबरजस्ती गरे पुलिसलाई फोन गरी विवाह रोक्न लगाउथ्यौ’–उनले आफ्नो कामको यसरी वर्णन गरे ।

उनले बालविवाहको बारमा भएका कानूनको बारेमा सबै टोल–टोलमा पुगेर अनुशिक्षण गर्न आवश्यक रहेको बताए । उनी भन्छन–‘ कानून थाहा छैन भनेर कसैलाई पनि क्षम्य त छैन तर, पनि कानूनको बारेमा जानकारी गराउन सके बाल विवाह रोकिन सक्ने थियो ।’ उनले विवाह गराउने पण्डित, लामा, पास्टर तथा निकाह गराउने मौलानालाई बालविवाहको बारेमा जानकारी गराउने र उनीहरु त्यस्ता विवाहमा संलग्न भए हुने कानूनी सजाएको बारेमा सचेत बनाउन सके न्यून हुनसक्ने बताए ।

उनले बालविवाह गर्दा हुने जोखिमको बारेमा घरदैलो अभियान गर्दा केहीले अझैपनि नबुझेर गाली गर्ने हकारेर पठाउने गरेको बताए । केहीले भने राम्रो गरीस भनेको पनि उनको अनुभव छ । उनले बाल विवाह रोक्दा निक्कै डर हुने कही कतै आफ्नै ज्यानको समेत सुरक्षा नहुनेसम्मको खतरा हुने गरेको बताए ।

‘विवाहको लागि सबै तयारी भएको हुन्छ । भोज पकाउनेदेखि उपाहारको सामान किन्ने सबै गरेपछि जन्ति पनि घरमा पुग्दै गर्दा विवाह रोकिदा घर परिवारले खर्च भई सक्यो हुन दिनुस भन्ने गरेको तर, कानुनले यो अपराध हो हुनु हुदैन भन्दा आक्रमणको समेत प्रयास हुने, रिस साँधेर राख्ने गर्दा व्यक्तिगत रुपमा दुस्मनी कमाउनु परेको छ’– उनले भने ।

‘मुल्बी’ रुतुब र मतिन त समुदायका प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्तै बालविवाह बिरुद्धका अभियन्ताहरु यतिबेला बर्दियाको गुलरिया नगरपालिकाका विभिन्न वडामा बाल विवाह बिरुद्धको सचेतना अभियान लिएर जनस्तरबाट सक्रिय रहेका छन् । उनीहरु यस्तो अभियानलाई विद्यालय तथा मदरसामा समेत पुराउदै बाल विवाह गर्दा उत्पन्न हुने जटिलताको बारेमा जानकारी गराउन आवश्यक रहेको बताउछन् ।

कम उमेर हुँदा प्रजनन स्वास्थ्यकोे जानकारी नहुने भएकोले विद्यालय तहमा प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराउने कक्षा सञ्चालन गरेर बढ्दो उमेर अनुसारको शरिरमा आउने परिवर्तनका बारेमा किशोर किशोरीलाई जानकारी गराउन सके पनि बाल विवाह जस्तो कुरिति समाजबाट हट्न सक्ने उनीहरुको विश्वास छ ।

समाजमा धार्मिक अगुवाको मान्यता वा धार्मिक अगुवालाई सबैले मान सम्मान दिदै उनीहरुले भनेका कुरा समुदायले पनि मनन गर्ने भएकोले अन्य धार्मिक अगुवालाई पनि बालविवाह बिरुद्धको अभियानको अभियन्ताको रुपमा अघि बढाउन आवश्यक रहेको छ ।

उनीहरु जस्तै अभियन्ताको सक्रियतामा जिल्ला प्रहरी कार्यालय बर्दियाले गत असारमा उनीहरुकै वडामा बालविवाह गराएको कसुरमा दुलाह, दुलही दुलाहको बाबु, आमा र विवाह गराउने पण्डितलाई नियन्त्रणमा लिएर कानूनी कारवाही अगाडि बढाएको छ । सो विवाहमा संलग्न रहेका दुलाहलाई बालसुधार केन्द्र बाँके नेपालगञ्जमा पठाईएको, दुलहीलाई बालसुधार गृह भक्तपुर पठाईएको र दुलाहको बाबुआमा र पण्डितलाई जनही १ लाख २० हजार धरौटी तारेखमा छोडिएको छ । बर्दियाको यो घटनापछि बालविवाह गर्दा अभिभावक र विवाह गराउने पण्डितलाई नै कानूनी कारवाही भएपछि न्युनिकरण भएको तथा बालविवाह नभएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारीलाई तनाव व्यवस्थापन अभिमुखिकरण

२ पुष २०७९, शनिबार १७:२१
  नेपालगञ्ज :  बाँकेका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत, तथा सेवा प्रवेश गरेका कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण आयोजना गरिएको छ । प्रदेश सुशासन केन्द्र नेपालगञ्जको आयोजना गरेको सो कार्यक्रममा करिव २ सयको सहभागिता रहेको लुम्बिनी प्रदेश सुशासन केन्द्र नेपालगञ्जका कार्यकारी […]

सम्बन्धित