सुरक्षाकर्मी परिचालन सुरु

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार ११:०५
 


नेपालगञ्ज : स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो ।

गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ । यसका लागि म्यादी प्रहरी एक लाख, नेपाल प्रहरी ६२ हजार, सशस्त्र प्रहरी ३२ हजार, सेना ७१ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट पाँच हजार जनशक्ति परिचालन गरिने मन्त्रालयले जनाएको हो ।

निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालनलगायत आवश्यक रणनीति योजना कार्यान्वयनमा ल्याइएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । तीमध्ये करिब दुई हजार नौ सय अति संवेदनशील, चार हजार चार सय संवेदनशील र तीन हजार तीन सय सामान्य अवस्थाका मतदान केन्द्र छन् ।


अति संवेदनशील मतदान केन्द्रमा छ म्यादी, पाँच प्रहरी गरी ११ जना, संवेदनशीलमा पाँच म्यादी, चार प्रहरी गरी नौ जना र सामान्य मतदान केन्द्रमा चार म्यादी, तीन प्रहरी गरी सात जना सुरक्षाकर्मी परिचालन हुने जानकारी प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले निर्वाचन मितिको एक हप्ताअघि नै सुरक्षाकर्मी सम्बन्धित स्थानमा खटिइसक्ने बताए ।
यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् ।

सशस्त्र प्रहरी बललाई निर्वाचन सुरक्षाअन्तर्गत मतदान केन्द्रको दोस्रो घेरामा राखिएको छ ।
नेपाली सेनाले उपत्यका बाहिर तीन र काठमाडौँमा एक गरी चार स्थानबाट आवश्यक जनशक्ति परिचालनका लागि हेलिकप्टरसहितको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ । मतपत्र र निर्वाचन सामग्री ढुवानीमा समेत सैनिक हेलिकप्टर प्रयोग भइरहेको छ ।

स्थानीय तह निर्वाचनका लागि गत चैत १ गतेबाट नै सेनाले निर्वाचन सुरक्षा तयारी सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षामा सेनाको सहभागिता रहेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनलाई लक्षित गरि सिमानामा संयुक्त गस्ती

१७ बैशाख २०७९, शनिबार ११:०५
नेपालगञ्ज : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बाँकेस्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । अन्य समयमा दुवै देशका सुरक्षाकर्मीले आआफ्नो देशभित्र गस्ती गर्दै आएकोमा निर्वाचनका बेला हुन सक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गरिरहेका छन् […]