नेपालगञ्ज : हिन्दू समुदायको महान पर्व बडा दशै नजिकिदै गर्दा नेपालगञ्जमा दुर्गाको मुर्ती निर्माणमा मूर्तीकारलाई भ्याई नभ्याई छ । बडा दशैमा देबी दुर्गाको मूर्ती विभिन्न स्थानमा राखेर पूजा आजा गर्ने चलन भएकोले विभिन्न टोल समितिमा दुर्गापूजा समितिले दिएको अर्डर अनुसारको मुर्ती बनाउन नेपालगञ्ज– ८ का छोटु केवटलाई भ्याई नभ्याई छ । उनी दशैं नजिकिएसंगै दुर्गा लगायतका मूर्ति बनाउनमा व्यस्त भएका हुन् ।
दशैं आउन लगभग हप्ता बाँकी रहँदा उनले अहिले ९ वटा मूर्ती तयार गरि सकेका छन् भने २ वटा बनाउने तयारीमा लागेका छन् । अहिले उनीसंगै ४ जना कामदारले मूर्ती निर्माणको काम गरिरहेका छन् । ११ वर्षको कलिलो उमेरमा मूर्ती बनाउने काम सिक्न उनी भारत पसेका थिए । ७ वर्षसम्म ज्यालामा काम गरेका उनले अहिले आफ्नै ठाउँमा मूर्ती बनाउने काम सुरु गरेका छन् । अहिले उनले अरु तीन जनालाई रोजगारी पनि दिएका छन् । उनले बनाएका मूर्ति २५ हजारदेखि ३० हजारसम्ममा बिक्रि गर्ने गरेका छन् ।
‘दशैं नजिकिएसंगै केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफै बनाएर बिक्रि गर्ने गरेका छै’–उनी भन्छन्–‘आफूले जानेको सिप अरुलाई पनि सिकाउने गरेको छु ।’ पहिला बडा दशै सुरु हुनु अघि भारतबाट मूर्तीकार नेपालगञ्जमा आउने र अर्डर अनुसारको मूर्ती तयार गरी फर्कने गर्थे तर, अहिले भने नेपालगञ्जमै स्थानीय मूर्तीकारले देबीको मूर्ती बनाउने गरेको नेपालगञ्ज त्रीभुवन चोकका दिपक लखेर बताउछन ।
सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । यो काम सिजनल भएकाले अन्य समयमा खाली बस्ने गरेको उनी बताउँछन् । मूर्ति बनाउन चाहिने कच्चा पदार्थ खरिद गरि ल्याउनुपर्ने र मूर्ति बनाउन चाहिने माटो जहाँ त्यहीं नपाईने भएकाले समस्या हुने गरेको पनि केवट बताउँछन् ।
स्थानीयतहले आफु अथवा आफुजस्ता मूर्ती बनाउने व्यावसायीका लागि कुनै पहल नगरिदिएको उनी बताउँछन् । उनले भने–‘ हामीले आफ्नै घरमा बसेर मुर्ती बनाउदा स्वरोजगार हुँदै रोजगारी पनि सृजना गरेका छौ । हामीलाई आवश्यक पर्ने चेम्टीलो र लेसाईलो माटो, पराल, काठको जोहो गर्न कठिन हुने गरेको छ । त्यो उपलब्ध गराउन स्थानीय तहले समन्वय गरिदिए अझ राम्रो हुने थियो ।’
बडा दशैमा मात्र बाँकेमा करिव १ हजारको हाराहारीमा देबी दुर्गाको मूर्ती स्थापना गरिने अनुमान छ । केही वर्ष अघि भारतबाट मूर्ती र कारिगर आफै आएर बनाउने गर्दथे भने अहिले नेपाली मूर्तीकारले बनाउने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापा मगरले यस्ता मूर्ती बनाउने व्यवसायीहरुलाई सुचीकृत गर्ने र तथ्यांक संकलन गर्ने जस्ता काम गर्न नसकेको बताइन । उनले यसको लागि अहिलेसम्म कुनै खालको माग नआएको र उपमहानगरपालिकाले त्यसतर्फ अहिलेसम्म कार्यविधि तथा योजना नबनाएको जानकारी दिईन ।
वर्षमा एकचोटी अर्थात चाडपर्वको बेला मात्र बनाउने भएकाले त्यस्ता व्यवसायीलाई मूर्ती बनाउन बेच्न छुट भएको र त्यस बापतको कुनै राजश्व नलिएको तर, आगामी दिनमा यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने हो भने नगरपालिकाले यस विषयमा सोच्न जरुरी रहेको उप प्रमुख थापाको भनाई छ ।
नेपालगञ्जमै मूर्ती निर्माण हुनाले भारतबाट खरिद गर्नुपर्ने अवस्थामा केही हदसम्म कमी आएको ग्राहकहरु बताउँछन् । यती मात्र होइन, यसो हुनाले नेपाली रुपैयाँ भारत जानबाट पनि रोकिएको स्थानीय बताउँछन् ।
घटस्थापनादेखि पूजा गर्ने गरेको माता दूर्गाको मूर्ती दशैंको एकादशीको दिन विसर्जन गर्ने गरिन्छ । नेपालगञ्जका प्रत्येक चोकमा दूर्गाको मूर्ती स्थापना गरि पूजा गर्ने चलन पहिलेदेखि नै चलिआएको छ ।