दाङ : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा चिकित्सकहरुको आन्दोलन जारी छ ।
दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।
चार दिनसम्म मोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । सोमबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजीमा डिएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मोसो दलेर चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारसँगै स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले ल्याएको अध्यादेश अनुसारको मुद्दा दर्ता गरिने बताए ।