काठमाण्डौ : गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।
सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उहाँले जानकारी दिनुभयो । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।


कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ ।