गाउँपालिका अध्यक्ष सुवेदी साढेदुई लाख धरौटी बुझाएर तारेखमा छुटे

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार २०:०५
 


दाङ  : दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर रिहा भएको बताए । सोमबार आफैं घोराहीस्थित जिल्ला अदालतमा उपस्थित भएका गाउँपालिकाका अध्यक्षसँग अदालतले साढे दुई लाख धरौटी मागेको थियो ।

राप्ती गाउँपालिका वडा नं। ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको आरोपसहित गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा हालेका थिए ।

जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जनाविरूद्ध ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो । सहकारीको पाँच करोड हिनामिनाका प्रकरणमा जिल्ला अदालत २५ प्रतिवादीमध्ये सोमबार गरेको यो पहिलो कारबाही हो ।


उक्त घटनामा सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका थिए। अन्य सबै हालसम्म पुर्पक्षका लागि थुनामा रहे पनि उषा राना थापालाई भने अदालतले साधारण तारेखमा रिहा गर्न यसअघि नै आदेश दिइसकेको थियो ।

सुवेदी सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए । मर्जपछि आफ्नो सहकारीमा कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी अध्यक्ष सुवेदीले गर्दै आएका थिए ।

रकम हिनामिनाको आरोपितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझै अदालतमा उपस्थित भएका छैनन् । गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको थियो । सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

१८ श्रावण २०७८, सोमबार २०:०५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ कञ्चनपुरकी ७५ बर्षीया महिला र भेरीगंगा नगरपालिका ५ सुर्खेतका ५७ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । यो संगै […]