सदरलाइनडटकम,
नेपालगञ्जः बाँकेमा पछिल्लो एकसाता यता अप्रत्याशित रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि जारी गरिएको निषेधाज्ञासंगै आवश्यक तयारीलाई समेत तीब्र परिएको छ ।
एकसाता अघिसम्म १२ जना संक्रमित रहेको बाँकेमा अहिले ७४ जना र बाहिर जिल्लाका ४ जना गरी ७८ जना संक्रमित भएपछि निषेधाज्ञा जारी गर्दै आवश्यक तयारी तीब्र पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।
उनले अत्याधिक सेवाग्राहीको चाप हुने कार्यालय, बढी भिडभाड हुने स्थानमा संकलन गरिएको सेम्पल जाँच गर्दा संक्रमितको संख्या बृद्धि भएपछि स्थानीयस्तरमा संक्रमणबाट जोगाउनको लागि निषेधाज्ञा जारी गर्नुको साथै सीमा षेत्रमा कडाई गर्ने, चेतनामुलक गतिविधि सञ्चालन गर्ने, पिसिआर जाँचको दायरा बढाउनुको साथै निषेधाज्ञा अवज्ञा गर्नेलाई संक्रमण ऐन अन्तरगत कारवाही गर्ने रणनीति बनाएको बताए ।
नेपालगञ्ज उपमहानगरका कार्यबाहक मेयर उमा थापामगरले पछिल्लो समयमा समुदाय स्तरमा संक्रमण फैलिएको नतिजा आएपछि आफुहरुले आईशोलेशन र क्वारेन्टाईन थप गरी लकडाउन गर्नु भन्दा पनि संक्रमणबाट जोगिन नागरिक सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिईन् ।
बाँकेमा आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, जिल्ला कारागारका कैदीबन्दी, वडा प्रहरी कार्यालय नेपालगन्जका सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी तथा अत्याधिक भिड हुने त्रीभुवनचोकका दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुबाट संकलन गरिएको सेंम्पल परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पाईएपछि ती कार्यालय तथा स्थान शिल गरी संक्रमितलाई आईशोलेशनमा राखिएको छ ।
यसैबीच बाँकेमा कोरोना भईरसको संक्रमण समुदाय स्तरसम्म फैलिएको कारण जिल्ला कोबिड व्यवस्थापन समितिले विभिन्न स्थानको अनुगमन गरी आईशोलेशन तथा क्वारेन्टाईन निर्माण गर्ने तथा सीमा क्षेत्रको अवस्थाको बारेमा जानकारी लिएको छ ।