मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार १७:४१
 

बैतडी : बैतडीको एक मन्दिरमा सुन चोरी भएको ६ महिनापछि सुन चोरी कार्यमा संलग्न भएका व्यक्तिहरु पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पौषमा चोरी भएको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको हो ।

मन्दिरको सुन चोरेको सम्बन्धमा गत चैतमा मन्दिरका पूजारी नैनराम सार्कीले थाहा पाएपछि सुन चोरी कार्यमा संलग्नहरुको खोजी शुरु गरिएको थियो ।

शुरुमा स्थानीयस्तरमै सुन चोरी कार्यमा संलग्नहरुलाई गाउँलेले खोजी गरेका र असार अन्तिम साता प्रहरीलाई खबर गरेपछि ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । शुरुमा दुईजनालाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरुको बयानका आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।


प्रहरीले पक्राउ गरेकाहरुबाट पौने चारतोला सुन समेत बरामद गरेको छ । शुरुमा स्थानीयहरुले दिएको निवेदनका आधारमा दोगडाकेदार गाउँपालिका १ रीमका २० बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए ।

यस्तै मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्दिरको सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य पनि संलग्न रहेको बुझिएको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थापना दिवसका अवसरमा भेरीद्धारा रक्तदान

९ श्रावण २०७८, शनिबार १७:४१
नेपालगञ्ज : आफ्नो १३१ औं वार्षिकोत्सवको अवसरमा बाँके जिल्लाको भेरी अस्पताल नेपालगञ्जले शनिबार स्थापना दिवसको अवसार पारेर डाक्टरहरुद्वारा रक्तदान गरिएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगजका प्राविधिक सुनिल थापामगरलाई रक्तदान कार्यक्रम संयोजक डा. उर्मिला पराजुलीले रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका […]