राप्तीसोनारीका स्कुले किशोरीलाई रक्तअल्पताबाट जोगाउन फोलिक एसिड खुवाईदै

सदरलाइन संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार ११:१८
 


राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिकाका सामुदायिक विद्यालयलयमा अध्ययनरत किशोरीलाई रक्त अल्पताबाट बचाउने उद्देश्यले आईरन चक्की ( फोलिक एसिड) खुवाउन सुरु गरिएको छ । गतवर्षदेखि सुरु गरिएको सो कार्याक्रम कोभिड–१९ को महामारीका कारण स्थगित गरिएको भएपनि गत माघबाट पुन सुरु गर्नेगरी तयारी अगाडि बढाईएको हो ।

राप्तीसोनारी गाउपालिकामा रहेका ७१ वटा विद्यालयमा संघिय स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको संयुक्त सशर्त अनुदानको कार्यक्रम अन्तरगत १० वर्षदेखि माथि १९ वर्षसम्मका किशोरीलाई फोलिक एसिड (आईरन चक्की) खुवाउन थालिएको गाउपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

उनले भने–‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको फोलिक एसिड (आईरन चक्की ) खुवाउने कार्यक्रमको तयारी गरिएको छ । विद्यालयले समन्वयको जिम्मेवारी पाएकोले विद्यालयका शिक्षक शिक्षिका तथा व्यवस्थापन समितिले कार्यक्रम सफल पार्न सहयोग गरेको छ ।’

गाउपालिकाको शिक्षा शाखा तथा स्वास्थ्य शाखासंग सहकार्यमा विद्यालयमा अध्ययनरत सबै किसोरीलाई रक्तअल्पताबाट जोगाउनको लागि फोलिक एसिड खुवाउने कार्यक्रमको सुरुवात गत वर्षबाटै गरिने तयारी भए पनि कोभिड–१९ को लकडाउनले असर पुराए पछि २०७७ माघमा सबै विद्यालयमा पत्राचार गरी फागुनबाट पुन खुवाउने कार्यक्रम सुरु गरिएको राप्तीसोनारी गाउपालिकाका स्वास्थ्य शाखाप्रमुख बुद्धिप्रसाद चुडालीले जानकारी दिए ।


उनले विद्यालय पोषण कार्यक्रम अन्तरगतको केन्द्रीय निर्देशन अनुरुप गाउपालिकालाई ५ कलस्टरलाई विभाजन गरी प्रधानाध्यापक, स्वास्थ्य शिक्षक, स्वास्थ्यकर्मीलाई एक दिने ओरेन्टेशन गरी खुवाउने कार्यक्रम सुरु गर्न लागेको बताए । राप्तीसोनारी गाउपालिकामा रहेका १० देखि १९ वर्ष सम्मका ५३ प्रतिशत किशोरी रक्तअत्पताको शिकार भएको तथ्याङ्कले देखाए अनुसार कार्यक्रम सुरु गरिएको हो । उनले वर्षमा २६ हप्ता खाुवाउने २६ हप्ता छाडेर पुन सुरु गर्ने योजना रहेको जानकारी दिए ।

उनले भने–‘ गाउपालिकामा बसोबास गर्ने १० वर्षदेखि १९ वर्षसम्मका किशोरीलाई लक्षित गरी पहिला विद्यालयमा आउने सबैलाई खुवाउने र विद्यालय आउन छाडेकालाई पनि कुनै न कुनै तरिकाले कार्यक्रममा समेट्ने गरी तयारी गरिएको छ ।’

बाँकेको राप्तीसोनारी गाउपालिका थारु समुदायको अधिक बाहुल्यता रहेको गाउपालिका हो । थारु समुदायमा ‘सिकलसेल एनिमिया’ एक प्रकारको रक्त अल्पता बंशाणुगत समस्या रहेको कारणले पनि कार्यक्रम सञ्चालनको लागि पहल गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए ।

Next Post

राँझा विमानस्थलमा आपतकालीन पूर्वाभ्यास

१४ फाल्गुन २०७७, शुक्रबार ११:१८
नेपालगञ्ज : नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपतकालीन पूर्वाभ्यास गरिएको छ । विमानस्थलभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न बृहत् आपतकालीन पूर्व अभ्यास गरिन्छ । फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत […]