खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा १८ करोड बढीको लगानीमा १५ शैयाको आधुनिक सुबिधासहितको अस्पताल निर्माण गरिने भएको छ । सकारको गत भदौ २४ गतेको मन्त्रिस्तरको निर्णय अनुसार देशभरका १ सय २२ स्थानीय तहसंगै खजुरा गाउपालिका पनि छनौटमा परेको हो ।
गाउपालिकाले खजुराको प्रारम्भिक स्वास्थ्य केन्द्रलाई नै १५ शैयाको अस्पतालकारुपमा विकास गर्ने गरी तयारी अघि बढाएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैयाको अस्पताल निर्माण गरिने विभिन्न स्थानीय तह र स्तरोन्नती हुने १ सय २२ वटा अस्पताल टुंगो लगाउने क्रममा बाँकेको खजुरा पनि परेको हो । स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले ती सबै अस्पतालका लागि बजेट पनि अख्तियारी पठाईसकेको गाउपालिका अध्यक्ष कक्षपतिले बताए ।
अर्थ मन्त्रालयबाट खजुराले सो अस्पताल निर्माण गर्नको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ प्राप्त भएको छ । आवाससहित भवन निर्माणको काम गर्ने गरी तयारी सुरु गरिएको अध्यक्ष कक्षपतिले बताए । डेढ बर्षभित्रै काम सम्पन्न गरेर सेवा दिने गरी मंसिर १५ गते शिलान्यास कार्यक्रमको तयारी गरिएको पनि उनले जानकारी दिए ।
यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिएको छ । खजुरामा बन्ने आधुनिक १५ शैयाको अस्पतालले दिने सेवा जिल्ला अस्पताल सरहको रहने बताईएको छ ।