बाँकेमा बन्यो खुला कारागार, राती मात्र बस्नु पर्ने

२२ श्रावण २०७७, बिहीबार १४:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको गनापुरमा देशकै पहिलो खुला कारागार निर्माण भएको छ । कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको ६ बिघा जमिनमा पहिलो पटक खुला कारागार निर्माण गरेको हो ।

कम सजाय हुने मुद्दामा कारागार चलान भएका तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुला कारागारमा राखिने छ । खुला कारागार सञ्चालनका लागि तयारी भइरहेको छ । खुला कारागारमा बस्ने कैदी बन्दी साँझ तोकिएको समयभित्र कारागारमा प्रवेश गरेर रातभरि कारगारमै बस्नुपर्नेछ ।

बिहान कारागार प्रशासनबाट अनुमति लिएर कारगारभन्दा बाहिर गएर काम गर्न, परिवारका सदस्यलाई भेट्न र जागिर गर्न सक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । नेपालगञ्जमा विक्रम सम्बत २००० सालमा निर्माण भएको एउटा मात्रै कारगार छ ।


५० जना महिला र २ सय ५० जना पुरुष गरी ३ सय क्षमताको कारागार भबनमा अहिले ७ सय ९० जना कैदीबन्दी छन् । क्षमताभन्दा दोब्बर बढी कैदी बन्दीलाई राखिएका कारण कारागारमा राखिएका कैदी बन्दीहरुले आधारभूत सुविधासमेत पाउन सकेका छैनन् ।

यस्तो अवस्थामा निर्माण भएको खुला कारागार अन्य कारागारभन्दा व्यवस्थित र सुविधा सम्पन्न छ । गनापुरमा निर्माण भएको खुला कारगारको निर्माण करिब पौने २ करोडको लागतमा निर्माण भएको हो । खुला कारागार परिसरमा निर्माण भएका २ वटा बन्दी गृहमा ४ वटा भान्सा घरसहित ३६ वटा कोठा भएको कारागार शाखा बाँकेका प्रमुख देबेन्द्र श्रेष्ठले बताए ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको खुला कारागारमा विद्युत् जडान गरेर पानीको व्यवस्था हुँदा साथ कैदी बन्दीलाई राख्न सकिने छ । कारागार परिसरमा ब्याडमिन्टन कोट समेत निर्माण गरिएको छ । ३२ वटा कोठा भएकाले एउटा कोठामा २ वटा कैदी बन्दीलाई राख्ने हो भने ६४ जना कैदी बन्दीलाई राख्न सकिने छ । (थाहाखबरबाट)

Next Post

बाँकेमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना पुष्टि

२२ श्रावण २०७७, बिहीबार १४:४३
सदरलाइनडटकम, नेपालगञ्ज : एक चिकित्सकसहित बाँकेमा बिहीवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एका चिकित्सक रहेका छन् । यस्तै बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ […]

सम्बन्धित