नेपालगञ्ज : विभिन्न सङ्घसंस्थाले भूकम्प पीडितका लागि उपलब्ध गराएको आठ सय थान त्रिपाल र ३५ रोल ओछ्याउने फम जिल्ला प्रशासन कार्यालय बाँकेले प्रभावित जिल्लामा पठाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्रभावित जिल्लाबाट त्रिपाल र ओछ्याउने फमको माग धेरै आएकोले नेपालगन्जमा विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएका आठ सय थान त्रिपाल र ३५ रोल फम पठाइएको हो ।
उनले जाडोको मौसम शुरु भइसकेको र कतैकतै पानी समेत परेकोले अहिले भूकम्पपीडितलाई सबैभन्दा बढी आवश्यक त्रिपाल र ओछ्याउने सामग्री रहेको देखेर त्रिपाल र फम पठाइएको बताए ।
अहिले पनि धेरै पीडित भत्किएका घर बाहिर खुला आकाशमुनि बसिरहेको तथा अझैसम्म धेरैले त्रिपाल नपाएको गुनासो प्रभावित जिल्लाबाट आइरहेको छ । नेपाल प्लाइउड म्यानुफक्चर एसोसिएसनले जिल्ला प्रशासन कार्यालय बाँकेलाई आठ सय थान त्रिपाल र जमिनमा ओछ्याउनका लागि २० रोल कालो मोटो फम उपलब्ध गराएको थियो । एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेसहितको टोलीले सो राहत हस्तान्तरण गरेको थियो ।
यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको राहतसँगै भारत सरकारबाट तीन खेपमा प्राप्त भएको ठुलो परिमाणको राहत सामग्रीलाई पनि तत्काल नै प्रभावित जिल्ला जाजरकोट र रुकुमतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपालगञ्जबाट जाजरकोट र रुकुम पश्चिम नजिक भएको हुँदा ६० जना गम्भीर घाइतेलाई उपचारका लागि यहाँ ल्याइएको र यहाँबाट राहत सामग्री पुर्याउन सहज भएकोले नेपालगञ्जलाई उपचार तथा राहत सङ्कलन तथा सम्प्रेषण केन्द्रका रूपमा स्थापित गरिएको थियो ।