हुम्लामा भारी हिमपात, देशैभर चिसो बढ्यो

२६ मंसिर २०७६, बिहीबार १७:५८
 

सदरलाइनडटकम,
हुम्ला : हुम्लामा हिमपात शुरु भएको छ । बिहीवार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेताम्य देखिएका छन् । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । बिहीवार दिनभरजसो हिमपात भएको मौसमविदले बताएका छन् । हिउँ परेसँगै चिसो बढेको छ । घरपालुवा पशु चराउन लैजान समस्या भएको छ । तर हिउँ परेसँगै बाली सप्रिने भन्दै किसानहरु भने खुशी देखिएका छन् ।
हिमपातका कारण हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
हिमपातका कारण नाम्खा गाउँपालिकाको लिमी ,चाला र हिल्सा आवतजावतमा कठिनाई भएको छ । हुम्लामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि मंसिर १२ गते पनि हिमपात भएको थियो । बुधवार बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ ।
यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
शनिवारसम्म यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

Next Post

लागुऔषधसहित रुपईडिहामा एक नेपाली पक्राउ

२६ मंसिर २०७६, बिहीबार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपाली लागु औषध स्म्याकसहित पक्राउ परेका छन् । आदर्श थाना रुपईडिहाले बिहीवार जाँचका क्रममा सुर्खेत सोमोटीका दिपेश सोमईलाई ५० ग्राम लागुऔषध स्म्याकसहित पक्राउ गरेको हो । रुपईडिहाका उपनिरीक्षक (सई) शेषमणि पाण्डेको नेतृत्वमा रहेको गस्ती टोलीले बिशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको […]

सम्बन्धित