खजुरा सडक मानवमुक्त गाउँपालिका घोषणा

२० कार्तिक २०७६, बुधबार १८:०४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका देशकै पहिलो सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा भएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र बेसहारा अवस्थामा रहेका ३६ जनालाई उद्धार गरिएकोमा ९ जनालाई नीलसागर सेवा आश्रमको सेवा पश्चात पारिवारीक पुनः मिलन गरेको र २७ जना हाल नीलसागरकै संरक्षणमा रहेका छन् ।
खजुरा गाउँपालिकामा अब यस्ता व्यक्तिहरु नरहेकोले खजुरालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको हो । खजुरा गाउँपालिकाको आयोजना र नीलसागर सेवाश्रमको समन्वयमा आज बुधवार देशका ४६० गाउँपालिकामध्ये पहिलो गाउँपालिकाको रुपमा खजुरालाई सडक मानवमुक्त घोषणा गरिएको हो ।
सो अवसरमा खजुरामा र्यालीपछि आयोजना गरिएको सभामा प्रदेश नं. ५ का सांसद आइपी खरेलले खजुरा गाउँपालिका सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा गरे । यसअघि भरतपुर महानगरपालिकालाई घोषणा गरी सकिएको छ । उक्त अवसरमा बोल्दै सांसद खरेलले राज्यका हरेक अंग मावनको सेवा गर्ने र मानवलाई सम्मान गर्ने दिशातर्फ अग्रसर हुनु पर्ने बताए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वर्षभरी आफ्ना अभिभावकलाई राम्रोसंग पालनपोषण गर्नेलाई सम्मान गरिने, कोही नभएका बेसहारालाई गाउँपालिकाले संरक्षण दिने र अभिभावकलाई अपहेलना गर्नेलाई गाउँपालिकाबाट प्रदान गर्ने सेवामा कटौती गरिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले बाँके जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने दिशामा आफु लागिरहेको बताए । कार्यक्रममा बोल्दै नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनालले संस्थाले सबैभन्दा ठूलो सेवा मानव सेवा रहेको मान्दै देशका विभिन्न जिल्लामा हाल पनि २३० जनाको संरक्षण गरिरहेको बताइन् ।
मानव सेवाको पवित्र कार्यमा निरन्तर लागिरहेको नीलसागरलाई खजुराले सम्मान पनि गरिएको थिाये । घोषणासभा शुरु हुनु अघि खजुराको धनौलीबाट शुरु भई विभिन्न सन्देशमुलक प्ले कार्ड र नौमती बाजासहितको र्याली गाउँपालिका परिसर पुगेको थियो ।

Next Post

मिलेमतोमा खानेपानीको ठेक्का दिएको आरोप

२० कार्तिक २०७६, बुधबार १८:०४
सदरलाइनडटकम, नेपालगञ्ज  : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जको टेण्डरमा निमार्ण व्यावसायी राघव शाहले गैरकानुनी रुपमा आफुलाई सहभागि हुन नदिएको आरोप लगाएका छन् । उनले प्रहरीसंग मिलेर आफुलाई फसाउने षडयन्त्र भएको आरोप लगाएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै गत कात्तिक १४ गतेको अबैध हतियारको घटनामा आफुलाई अनावश्यक रुपमा […]