नक्कली नोट र मेशिनसहित चार जना पक्राउ

२४ श्रावण २०७६, शुक्रबार १८:१३
 

सदरलाइनडटकम,
कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेशिनसहित ४ जनालाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।
तीन जनालाई धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाण्डौबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ ।
उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ थान नोट, पाँच सयकै भारतीय ८६ थान नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ । यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोटसहित स्टीलको दराजमा राखिएको एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ । नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र त्यही ठाउँका गुरुजीत सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो ।


Next Post

ध्रुबताराद्वारा सबै औषधीमा दश प्रतिशत छुट

२४ श्रावण २०७६, शुक्रबार १८:१३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित ध्रुबतारा पब्लिक फार्मेसी प्रालिले शुक्रवारदेखि सर्वसाधारणलाई सबै प्रकारको औषधीमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ । पत्रकारहरुको विशेष अनुरोधमा सर्वसाधारणहरुका लागि हरेक औषधीमा १० प्रतिशत छुटको ब्यवस्था मिलाईएको फार्मेसीका सञ्चालक देबेन्द्र अधिकारीले जानकारी दिए । सम्भवतः नेपालमै पहिलो पटक फार्मेसीले सर्वसाधारणका लागि औषधीमा छुृटको ब्यवस्था […]