सदरलाइनडटकम,
नेपालगञ्ज : सामाजिक सुरक्षा भत्ताका लागि नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ ले वडा कार्यालयबाटै वितरण गर्न सुरुवात गरेको छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक र अपाङ्गको सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको जनाएको छ ।
उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमा जम्मा गरिदिने भए पनि आफुहरुले खाता संचालन भएको सेञ्चुरी बैङ्कसँग समन्वय गरि वडा कार्यालयबाटै वितरण गरेको वडा अध्यक्ष दिपक वर्माले जानकारी दिए । बिहिवारदेखि सुरु भएको भत्ता वितरण कार्य शुक्रबारसम्म चल्नेछ ।
वडा अध्यक्ष बर्माले वडाभित्र सामाजिक सुरक्षा भत्ता पाउनेमा जेष्ठ नागरिक दलित ८०, अन्य जेष्ठ नागरिक १ सय ६६, एकल महिला २ सय ८३, पुर्ण अपाङ्ग १४, आंशिक अपाङ्ग १६, दलित बालबालिका १ सय ६९ गरि जम्मा ७ सय २८ जना रहेको बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि सेञ्चुरी बैंङ्कले आफ्ना कर्मचारी मेनुका शर्मासहित दुईजनालाई वडा कार्यालय मै खटाएका वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । उनले सामाजिक सुरक्षाभत्ता पाउनेहरुको सहजताका लागि जनप्रतिनिधिले सहजिकरण गदै वडा मै बैंक बोलाएर सेवाग्राहीको हात मै नगद राखिदिएको स्पष्ट पारे ।