प्रदेश नं. पाँचको बजेट बहुमतले पारित

९ असार २०७६, सोमबार १७:४३
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ । असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए । एकसाताको छलफलपछि बजेट बहुमतले पारित भएको थियो । विनियोजन विधेयक सर्वसम्मत पारित भएपनि अर्थ विधेयक बहुमतबाट पारित भएको हो ।
प्रमुख विपक्षी दल कांग्रेसले बजेटमा असहमति जनाउदै विधेयकको विपक्षमा मत दिएको हो । आगामी वर्षको बजेटमा पूँजीगततर्फ ५१ प्रतिशत अर्थात १८ अर्ब ५७ करोड ६४ लाख रहेको छ । चालु तर्फ ३७ प्रतिशत अर्थात १३ अर्ब ४५ करोड ५ लाख बजेट बिनियोजन भएको छ । वित्तिय हस्तान्तरण तर्फ स्थानीय तहका लागि ४ अर्ब ३८ करोड ९८ लाख बिनियोजन भएको छ । यो कुल बजेटको १२ प्रतिशत हो ।
संसदमा उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले बजेटले कुनै पनि करको दर बृद्धि नगरेको बताए । कर बृद्धि नगरी दायरामात्रै बढाएर गत आर्थिक वर्षभन्दा झण्डै दोब्बरले आन्तरिक राजश्व संकलनको लक्ष्य लिइएको बताए । उनले जग्गा नामसारी, सवारी करमा बृद्धि नगरिएको भन्दै करकै कारण मूल्यबृद्धि नहुने जिकिर गरे । उनले आगामी वर्ष पर्यटकीय क्षेत्रमा अनिवार्य टिकटको व्यवस्था गर्ने र मनोरञ्जन करलाई व्यवस्थित गर्दै लगिने बताए ।
प्रदेशले पाउने घरजग्गा रजिष्ट्रेसन शुल्क स्थानीय तहमा हस्तान्तरण हुन नसकेको भन्दै विभाज्य कोषलाई व्यवस्थित गर्न जरुरी रहेको उनले बताए । बजेटमाथि छलफलका क्रममा प्रतिपक्षले पहुचका भरमा बजेट बनाइएको भन्दै त्यसले सबै क्षेत्रलाई समेट्न नसकेको आरोप लगाएको थियो ।

Next Post

बिरामीको मृत्युपछि राप्ती अस्पतालमा तनाव

९ असार २०७६, सोमबार १७:४३
सदरलाइनडटकम, दाङ : ज्वरो र पखाला लागेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न भर्ना गरिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । बिरामीको मृत्यु भएसँगै मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् । ज्वरो र पखालाका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्क […]