बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवाको शुल्क निर्धाणको लागि छलफल

२० मंसिर २०७५, बिहीबार ०९:०९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवा शुल्क तथा गुणस्तरियतामा एकरुपता ल्याउनका लागि सरोकारवालाहरु बीच छलफल गरी विभिन्न क्षेत्रलाई समेटेर शुल्क निर्धारण समिति निर्माण गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, प्याथोलोजी आदीले बिरामी चेकजाँच गर्दा लिने स्वास्थ्य सेवा शुल्कमा एकरुपता नभएको जनगुनासो आएपछी शुल्कमा एकरुपता ल्याउनका लागि छलफलको आयोजना गरिएको स्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले भने–‘विभिन्न स्वास्थ्य संस्था, ल्याव पोलिक्लिनिकले असिमित र महंगो सेवा शुल्क लिएर गुणस्तर हीन सेवा दिने गरेको भन्दै चर्को जनगुनासो बढेपछि कार्यालयले जिल्लाका सबै सरोकारवाला संग छलफलको आयोजना गरेको हो ।’ उनले छलफलमा उठेका विषय बस्तुलाई सम्बोधन गर्नको लागि पहल समेत गरिने जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्वास्थ्य जस्तो प्रत्यक्ष मानव जीवनसंग सरोकार राख्ने विषयमा अत्यन्तै संवेदनशिल हुन आग्रह गर्दै संस्था सञ्चालनको अनुमति लिदा गरेको प्रतिबद्धतालाई अक्षरक्ष पालना गर्न आग्रह गरे ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष अभय बस्नेतले चिकित्सक र ल्याबबीचको अस्वस्थ सम्बन्धको कारण स्वास्थ्य क्षेत्र नै बदनाम हुनुको साथै आम उपभोक्ता मर्कामा परेको दाबी गर्दै भने–‘ विभिन्न ल्याव तथा चिकित्सकबीचको सम्बन्धलाई तोड्न सके मात्र गुणस्तरिय र शुलभ सेवा प्रवाह गर्न संभव छ । त्यसका लागि चिकित्सकले यो वा त्यो फलानो ल्यावबाट जाँच गराउनु होला भनेर सिफारिस गर्न छाड्नु पर्छ ।’
सिद्धार्थ अस्पताल बाँकेका सञ्चालक धनराम वलीले प्रतिश्पर्दी अवस्थामा पनि आफुहरुले अत्यन्तै शुलभ दररेटमा विरामीको सेवा गरि रहेको बेलामा अनावश्यक आरोप खेप्नु परेको दुखेसो पोख्दै भने–‘औषधि उपचारको लागि दिनहु भारत जानेको लर्को ठूलो छ । त्यहाँ पुगेर मानिस बैधानिकरुपमा लुटिएर आउछ तर चुक्क बोल्दैन यहाँ थोरै पैसामा गुणस्तरिय सेवा दिदा पनि अनेकन आरोपा आउनु अत्यन्तै दुखद हो ।’
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, औषधि व्यवस्था बिभाग बाँकेकी प्रमुख निना श्रेष्ठ, उपभोक्ता हकहित संरक्षण मन्चका अध्यक्ष वसन्त गौतम, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
यसैबीच स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सोही कार्यक्रमबाट निजी अस्पताल, सरकारी अस्पताल, डाइग्नोस्टिक सेन्टर, पोलिक्लिनिक, ल्याब प्याथोलोजी, उपभोक्ता हकहित संरक्षण मन्च, डेन्टल क्लिनिक, जिल्ला प्रशासन कार्यालय, उप–महानगरपालिका, पत्रकार, उद्योग बाणिज्य संघ, औषधि ब्यबस्था बिभागका प्रतिनिधिहरु सदस्य रहने गरि शुल्क निर्धधारण समिति गठन गरिएको स्वास्थ्य अधिकृत चन्दले जानकारी दिए ।

Next Post

नेपालगञ्जमा आगलागी हुँदा करोडौंको नोक्सान

२० मंसिर २०७५, बिहीबार ०९:०९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा बुधवारराती आगलागी हुँदा एक करोड बढीको नोक्सान भएको छ । मेडिकल कलेज अगाडी रहेका राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी तथा धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियो । एक्कासी विद्यतु शर्ट भई आगलागी हुुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको हो । […]